काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले डोजर अभियानबाट विस्थापित सुकुम्बासीहरूलाई उनीहरू बसेको पुरानै स्थानमा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष राईले डोजरका कारण बेघर भएका सुकुम्बासीहरू होल्डिङ सेन्टरमा खाना र पानीको अभाव झेल्न बाध्य भएको बताउनुभयो। उहाँले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराई पुनर्वासको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो।
राईले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट नहटेसम्म आफ्नो पार्टीको विरोध जारी रहने स्पष्ट पार्नुभयो। साथै, सहर व्यवस्थापनका लागि छुट्याइएको बजेट सुकुम्बासीहरूको पुनर्वासमा खर्च गर्न सरकारलाई सुझाव समेत दिनुभयो।
यसैबीच, प्रधानमन्त्रीको उपस्थिती र जवाफको माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध जारी राखेपछि प्रतिनिधिसभाको नियमित कार्यसूची प्रभावित भएको छ।

