काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाबीच सामाजिक सञ्जालमा देखिएका पछिल्ला अभिव्यक्तिले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ। प्रधानमन्त्रीको चेतावनीपूर्ण स्टाटसपछि कांग्रेस सभापति थापाले दिएको जवाफलाई लिएर दुवै नेताबीच राजनीतिक टकराव बढ्न सक्ने अनुमान गर्न थालिएको छ।
प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जालमा लेखेको स्टाटसले राजनीतिक वृत्तमा विशेष चर्चा पाएको थियो। उनले लेखेका थिए, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ। एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई गृहमन्त्रीले समेत शेयर गर्दै ‘LOUD AND CLEAR’ लेखेपछि सरकारले केही व्यक्तिविरुद्ध कडा कदम चाल्न लागेको हो कि भन्ने अड्कलबाजी सुरु भएको थियो। प्रधानमन्त्री र गृहमन्त्रीका अभिव्यक्तिलाई कतिपयले सम्भावित पक्राउ वा कारबाहीको संकेतका रूपमा समेत व्याख्या गरेका थिए।
प्रधानमन्त्रीले संकेत गरेका ती ‘एक–दुई जना’ को हुन् भन्ने विषयमा राजनीतिक तथा प्रशासनिक वृत्तमा विभिन्न अनुमान भइरहेका बेला सोमबार कांग्रेस सभापति गगन थापाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्।
थापाले सोमबार साँझ ठीक ६ बजे फेसबुकमा लेखेका छन्, ‘अहिले ठीक १८ः०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।’
थापाको यो अभिव्यक्तिलाई प्रधानमन्त्रीको अघिल्लो दिनको चेतावनीपूर्ण स्टाटससँग जोडेर हेरिएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिपछि थापाले दिएको यो प्रतिक्रियाले उनी सरकारको चेतावनीबाट विचलित नहुने सन्देश दिन खोजेको हो कि भन्ने राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।
यद्यपि, थापाले प्रधानमन्त्रीकै स्टाटसलाई लक्षित गरेर उक्त प्रतिक्रिया दिएका हुन् वा स्वतन्त्र रूपमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् भन्ने स्पष्ट भइसकेको छैन। दुवै नेताका अभिव्यक्तिबीच प्रत्यक्ष सम्बन्ध रहेको आधिकारिक पुष्टि पनि भएको छैन।
इनम प्रकरणसँग जोडिएपछि थप चासो
यसबीच इनम सापकोटा प्रकरणसँग जोडेर कांग्रेस सभापति थामाथि विभिन्न आरोपसहितका समाचार केही अनलाइन माध्यममा प्रकाशित भएका छन्।
प्रकाशित समाचारहरूमा इनम सापकोटाले प्रहरी हिरासतमा दिएको भनिएको बयान उद्धृत गर्दै कांग्रेसलाई आधिकारिकता दिलाउने प्रक्रियामा आर्थिक चलखेल भएको तथा सर्वोच्च अदालतको मुद्दा प्रभावित पार्न रकम खर्च गरिएको दाबी गरिएको छ। ती समाचारमा गगन थापाको नेतृत्वमा रहेको कांग्रेससँग सम्बन्धित विषयसमेत उल्लेख गरिएको बताइएको छ।
तर, उक्त बयानको आधिकारिक विवरण, आरोपको स्वतन्त्र पुष्टि तथा सम्बन्धित व्यक्तिहरूको प्रतिक्रिया सार्वजनिक रूपमा स्पष्ट नभएसम्म यस्ता दाबीलाई प्रमाणित तथ्यका रूपमा प्रस्तुत गर्न सकिँदैन। आरोपबारे सम्बन्धित पक्षको धारणा र अनुसन्धानबाट स्थापित तथ्य महत्त्वपूर्ण हुनेछ।
यही पृष्ठभूमिमा प्रधानमन्त्रीको चेतावनीपूर्ण स्टाटस र कांग्रेस सभापति थापाको जवाफलाई जोडेर राजनीतिक वृत्तमा विभिन्न व्याख्या भइरहेका छन्। थापाले सरकार वा सरकारनिकट पक्षबाट आफूलाई लक्षित गरिएको राजनीतिक दबाबको संकेत बुझेर जवाफ दिएको हुन सक्ने चर्चा पनि भइरहेको छ। यद्यपि, उनले आफ्नो स्टाटसको आशयबारे छुट्टै स्पष्टीकरण दिएका छैनन्।
प्रधानमन्त्री र प्रतिपक्षी सभापतिबीच टकराव बढ्ने संकेत ?
प्रधानमन्त्री शाहको ‘सही समय आएपछि सबैको गलत समय आउँछ’ भन्ने अभिव्यक्ति र कांग्रेस सभापति थापाको ‘तर्सिने बानी परेन’ भन्ने जवाफले राजनीतिक वातावरण थप पेचिलो बन्न सक्ने संकेत गरेको छ।
सरकारले भ्रष्टाचार, अनियमितता वा गैरकानुनी गतिविधिमा संलग्न जोसुकैलाई कानुनी प्रक्रियाबाट कारबाही गर्न सक्छ। तर, त्यस्तो कारबाहीको सन्देश चेतावनीपूर्ण स्टाटसबाट भन्दा अनुसन्धान, प्रमाण र कानुनी प्रक्रियाबाट स्पष्ट पारिनु आवश्यक हुन्छ।
त्यस्तै, प्रमुख प्रतिपक्षी दलका नेताले पनि आरोप वा अनुसन्धानको विषयमा तथ्य र प्रमाणका आधारमा आफ्नो धारणा सार्वजनिक गर्नु राजनीतिक जिम्मेवारीको विषय हो।
प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका सभापतिबीच सामाजिक सञ्जालमा देखिएको यो अभिव्यक्तिको आदानप्रदानले आगामी दिनमा राजनीतिक सम्बन्ध कस्तो दिशामा अघि बढ्छ भन्ने चासो बढाएको छ। प्रधानमन्त्रीले संकेत गरेका व्यक्तिहरू को हुन्, सरकारले कुनै ठोस कारबाहीको तयारी गरेको छ कि छैन र गगन थापाको प्रतिक्रियाको वास्तविक आशय के हो भन्ने विषय भने अझै खुल्न बाँकी छ।




प्रतिक्रिया