चिया उद्योग संकटमा, सरकार मौन : सांसद राई


काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतले लागू गरेको नयाँ चिया निर्यात मापदण्डका कारण इलामका चिया उद्योग र किसान गम्भीर संकटमा परेको बताएका छन्।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले भारतको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ का कारण इलामका ८३ चिया कारखाना तीन दिनदेखि बन्द रहेको बताए। उनले प्रधानमन्त्रीप्रति कटाक्ष गर्दै चिया पसलमा चिया पिउनेभन्दा चिया उद्योग र किसानका समस्या समाधानमा ध्यान दिन आग्रह गरे।

उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चियापत्ती खेर गएको, मजदुरको रोजगारी गुमेको र उद्योगीहरू बैंकको ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको उनले बताए।

राईले चिया निर्यात खुलाउन तत्काल कूटनीतिक पहल, नेपालमै चिया परीक्षण प्रयोगशाला स्थापना तथा तेस्रो मुलुकमा बजार विस्तारका लागि सरकारले पहल गर्न माग गरेका छन्।

२०८३ असार ३, बुधबार १२:३८ प्रकाशित
ट्रेन्डिङ समाचार