साउदी जान सिप परीक्षण अनिवार्य, असफल श्रमिकलाई प्रवेश रोक
काठमाडौँ । सिप परीक्षण उतीर्ण नगरेका नेपाली श्रमिकलाई अब साउदी अरब रोजगारीका लागि जान नपाउने भएका छन्। बुधबारदेखि लागू भएको नयाँ नियमअनुसार सिप प्रमाणीकरण अनिवार्य गरिएको छ। साउदी सरकारले श्रमिकको व्यावसायिक दक्षता प्रमाणित गर्न यो कार्यक्रम लागू गरेको जनाएको छ।
सिप परीक्षणमा सहभागी श्रमिकलाई तीन पटकसम्म अवसर दिइनेछ। तर तीनै पटक असफल भएमा उनीहरूलाई साउदीमा रोजगारीका लागि प्रवेश अनुमति नदिइने व्यवस्था गरिएको छ। परीक्षणका लागि करिब १०० अमेरिकी डलर (सिप परीक्षा र पूर्वसिकाइ मान्यता शुल्क गरी) तिर्नुपर्ने भएकाले श्रमिकमाथि अतिरिक्त आर्थिक भार थपिएको छ।
यद्यपि नेपाल र साउदी अरबबीच यस विषयमा औपचारिक सहमति वा छलफल नभएको भन्दै आलोचना भइरहेको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पनि नयाँ व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै यसले श्रम प्रक्रिया झनै जटिल बनाउने प्रतिक्रिया दिएको छ।