इरान–अमेरिका तनाव अन्त्यतिर , १५ घण्टे गोप्य वार्तापछि १४ बुँदे समझदारीको मस्यौदा तयार


काठमाडौं । मध्यपूर्वमा लामो समयदेखि चर्किंदै आएको अमेरिका–इरान सैन्य तथा राजनीतिक तनाव अन्त्य गर्ने प्रयासमा महत्वपूर्ण प्रगति भएको दाबी गरिएको छ। कतारको मध्यस्थतामा तेहरानमा करिब १५ घण्टा लामो म्याराथन वार्तापछि दुवै पक्षबीच १४ बुँदे समझदारी पत्रको मस्यौदा तयार भएको इरानी पक्षले जनाएको छ।

इरानका उपपरराष्ट्र मन्त्री काजेम गरबाबादीले सोमबार इरानी सरकारी सञ्चार माध्यमसँग कुरा गर्दै वार्ता “अत्यन्तै जटिल, संवेदनशील र लामो” भएको बताएका हुन्। उनका अनुसार कतारी प्रतिनिधिमण्डल आइतबार समझदारी पत्रलाई अन्तिम रूप दिन तेहरान पुगेको थियो।

“तेहरानमा करिब १४–१५ घण्टा लगातार विस्तृत छलफल भयो। इरानका तर्फबाट मस्यौदामा केही अन्तिम संशोधन प्रस्ताव गरियो र ती अधिकांश स्वीकार गरिएपछि समझदारी पत्रको प्रारम्भिक रूप तयार भएको छ,” गरबाबादीलाई उद्धृत गर्दै इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

उनले अन्तिम सहमतिका लागि आगामी ६० दिनलाई निर्णायक समयसीमा तोकिएको जानकारी पनि दिएका छन्। उनका अनुसार यस अवधिमा इरानको पहिलो प्राथमिकता आफूमाथि लगाइएका सम्पूर्ण आर्थिक, तेल तथा राजनीतिक प्रतिबन्ध हटाउनु हुनेछ।

१४ बुँदे मस्यौदामा के–के छन् ?

इरानको अर्ध–सरकारी सञ्चार माध्यम ‘मेहर न्युज एजेन्सी’ले सार्वजनिक गरेको भनिएको मस्यौदामा अमेरिका र इरानबीचका संवेदनशील विषय समेटिएका छन्। यद्यपि, दुवै देशले औपचारिक रूपमा यसको पुष्टि वा हस्ताक्षर भने गरेका छैनन्।

मस्यौदामा समावेश मुख्य बुँदाहरू यस्ता छन्–

– लेबनानसहित सबै मोर्चामा तत्काल र स्थायी युद्धविराम लागू गर्ने
– अमेरिकाले इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाउने
– सम्झौतापछि ३० दिनभित्र अमेरिकी नौसैनिक नाकाबन्दी हटाइने
– अमेरिकी सेना इरान आसपासका संवेदनशील क्षेत्रबाट पछि हट्ने
– हर्मोज जलडमरूमध्यलाई पुनः इरानी संयन्त्रअन्तर्गत सञ्चालनमा ल्याइने
– इरानको पुनर्निर्माणका लागि अमेरिका र उसका सहयोगी राष्ट्रहरूले कम्तीमा ३०० अर्ब डलर बराबरको सहायता योजना उपलब्ध गराउने
– इरानी तेल तथा ऊर्जा क्षेत्रमा लगाइएका सबै प्रतिबन्ध हटाइने
– इरानले पुनः आणविक हतियार नबनाउने प्रतिबद्धता दोहोर्‍याउने
– अमेरिकाले यस क्षेत्रमा थप सैन्य शक्ति नबढाउने तथा नयाँ प्रतिबन्ध नलगाउने प्रतिबद्धता गर्ने

मेहर न्युजका अनुसार इरानले आफ्नो रोक्का गरिएको सम्पत्तिको कम्तीमा आधा हिस्सा फुकुवा नभएसम्म, तेल प्रतिबन्ध नहटेसम्म र नौसैनिक नाकाबन्दी पूर्ण रूपमा अन्त्य नभएसम्म अन्तिम प्राविधिक वार्ता अघि नबढ्ने स्पष्ट सर्त राखेको छ।

रिपोर्टमा यो सम्भावित “ऐतिहासिक समझदारी” लाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावमार्फत अन्तर्राष्ट्रिय वैधानिकता दिने तयारीसमेत रहेको उल्लेख गरिएको छ।

विश्व राजनीतिमा नयाँ मोड ?

यदि यो समझदारी अन्तिम सम्झौतामा परिणत भयो भने, दशकौँदेखि वैमनस्यमा रहेका अमेरिका र इरान सम्बन्धमा ठूलो परिवर्तन आउन सक्ने विश्लेषण गरिएको छ। विशेष गरी तेल बजार, मध्यपूर्वको सुरक्षा अवस्था, हर्मोज जलडमरूमध्यको व्यापारिक गतिविधि तथा विश्व ऊर्जा आपूर्तिमा यसको प्रत्यक्ष प्रभाव पर्ने अनुमान गरिएको छ।

तर, कूटनीतिक वृत्तमा भने अझै सावधानीपूर्वक हेरिएको छ। किनकि विगतमा पनि अमेरिका–इरानबीच भएका धेरै समझदारी अन्तिम चरणमा पुगेर विफल भएका उदाहरण छन्।

हालसम्म वासिङ्टनले भने यस मस्यौदाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

२०८३ असार १, सोमबार ०७:५३ प्रकाशित
ट्रेन्डिङ समाचार