काठमाडौँ । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङ ले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारी निर्णय फिर्ता लिन माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले विद्युत खपत बढाउन प्रोत्साहन गर्नुपर्ने समयमा सरकारले उल्टै उपभोक्तामाथि अतिरिक्त करको भार थपेको बताएका छन्। उनका अनुसार यो निर्णयले लाखौँ घरायसी उपभोक्ताको मासिक खर्च बढाउनुका साथै विद्युतीय उपकरणको प्रयोग घटाएर एलपी ग्यासमा निर्भरता बढाउन सक्छ।
घिसिङले स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउने, हरित अर्थतन्त्र प्रवर्द्धन गर्ने तथा आम उपभोक्ताको हित संरक्षण गर्ने उद्देश्यले विद्युतमा लगाइएको अतिरिक्त ५ प्रतिशत कर तत्काल फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्।