अख्तियार प्रमुखलाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठक पुर्पक्षका लागि जेल चलान
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग का प्रमुख आयुक्त प्रेमकुमार राई लगायतलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका प्रकाश पाठक लाई अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालत का न्यायाधीश सुदर्शन लामिछाने को एकल इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८० बमोजिम पाठकलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।
पाठकविरुद्ध आपराधिक षडयन्त्र, आपराधिक लाभ (एक्सटर्सन), हुण्डी कारोबार, विद्युतीय कारोबार तथा संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । शुक्रबार भएको थुनछेक बहसपछि अदालतले उनलाई कारागार चलान गर्ने निर्णय गरेको हो ।
अनुसन्धानका क्रममा पाठकले इमेलमार्फत अख्तियार प्रमुख राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिएको खुलेको छ । उनले “एक्ट्रिमिष्ट ग्रुप नेपाल” नामक अवैधानिक समूह स्थापना गरी नेपाल नागरिक उड्डयन प्राधिकरण का तत्कालीन महानिर्देशक प्रदीप अधिकारी को निर्देशनमा धम्की दिएको आरोप अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, बयानका क्रममा पाठकले राईलाई धम्की दिएबापत अधिकारीबाट फिलिपिन्समा हुण्डीमार्फत दुई करोड रुपैयाँ प्राप्त गरेको स्वीकार गरेको अनुसन्धान स्रोतले जनाएको छ ।
यसअघि पाठकले अख्तियारका तत्कालीन सहप्रवक्ता गणेशबहादुर अधिकारीको मोबाइलमा भारतीय नम्बर प्रयोग गरी सन्देश पठाउँदै असम्बन्धित व्यक्तिलाई पक्राउ गरेर दुःख दिएको भन्दै ज्यान लिने चेतावनी दिएका थिए ।
अदालतले अभियोगपत्रमा समेटिएका तथ्य र प्रमाणलाई आधार मानेर पाठकलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । साथै आदेशमा फरार व्यक्तिका नाममा म्याद जारी गर्न तथा डिल्लीबजार कारागारमा रहेका प्रदीप अधिकारीलाई बयानका लागि झिकाउन पनि भनिएको छ ।पाठकले अख्तियार प्रमुखलाई धम्काउन २ करोड रुपैया फिरौती बुझेका थिए ।