अनुशासनको कारवाही डा.कोइराला समूहले नमान्ने, प्रतिवाद गर्ने


काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले पार्टी संस्थापनले गरेको अनुशासनको कारबाही अवैधानिक रहेको भन्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

आज बिहान कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा बसेको उक्त समूहको बैठकले अनुशासनको कारबाही पूर्वाग्रहपूर्ण तरिकाले भएको निष्कर्ष निकाल्दै यसको प्रतिवाद गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले कांग्रेस अनुशासन समितिको कारबाहीबारे पार्टी सभापति, उपसभापति र महामन्त्रीहरुसँग छलफल गर्ने पनि निर्णय गरेको छ ।

यसअघि केन्द्रीय समितिको बैठकपश्चात् पार्टी सभापति, उपसभापतिद्वय र महामन्त्रीद्वय पाँच जना बसेर अहिले अनुशासन समितिको कुनै पनि निर्णय बाहिर नल्याउने सहमति भएको थियो । तर, त्यसविपरीत निर्णय आएपछि अनुशासनको कारबाही नमान्ने र सभापतिलाई सम्झाउने निर्णय भएको बैठकपछि नेता कोइरालाले जानकारी दिए ।

उनले भने, ‘संस्थापन पक्षको कारबाही अवैधानिक छ । व्यक्तिहरु छानीछानी कारबाही गरिएको छ, यो अस्वीकार्य छ ।’

२०८२ असार २६, बिहीबार १३:५० प्रकाशित
ट्रेन्डिङ समाचार