काठमाडौं । चीनबाट आएको बाढीले रसुवागढीमा ठूलो मात्रामा धनजनको क्षति भएपछि गृह मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ ।
मन्त्रालयले रसुवा बाढीबारे छलफल गर्न केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको संयुक्त बैठक बोलाएको हो । बैठक दिउँसो १ बजे गृह मन्त्रालयमा बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ रसुवागढीमा मंगलबार बिहान ३ बजेतिर भोटेकोसी नदीमा आएको बाढीमा परी ३ प्रहरीसहित १८ जना बेपत्ता भएका छन् ।
बाढी आएपछि उद्धारमा खटिएकामध्ये इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी जवान लोकेन्द्र बोहरा पनि बेपत्ता भएका हुन् । अन्यको पहिचान खुलिसकेको छैन ।
उनीहरूको खोजी कार्य जारी रहेको रसुवा प्रहरीले जानकारी दिएको छ । बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएकाले आवतजावत बन्द भएको छ ।
यस्तै बाढीले ईभी चार्जिङ स्टेसनमा रहेका ७/८ वटा गाडी बगाएको छ भने भन्सार कार्यालय रसुवाको यार्ड र रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको जानकारी प्रहरीले दिएको छ ।


