
काठमाडौं । रुपन्देही क्षेत्र नं ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनमा बुटवल–१९ का लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।
गैरेले आइतबार पत्रकार सम्मेलनमार्फत राजनीतिक दलप्रति जनवितृष्णा बढ्दै गएको भन्दै सुशासन र समानुपातिक बजेट वितरणका लागि उम्मेदवारी दिएको बताए। उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालन, ढुंगा गिटी चोरी नियन्त्रण, भन्सार छली रोकथाम, कृषि समस्या समाधान र पर्यटन प्रवर्द्धनलाई प्रमुख एजेन्डा बनाएका छन्।
उक्त क्षेत्रबाट नेपाली कांग्रेस, एमाले, रास्वपा, राप्रपा, माओवादी केन्द्र, नागरिक उन्मुक्ति लगायत दलका थुप्रै आकांक्षी चर्चामा छन्। अघिल्लो निर्वाचनमा कांग्रेसले २०,२७८, एमालेले १६,९८६, रास्वपाले १४,१५४ र राप्रपाले ९,१८३ मत पाएका थिए।
२०८२ असार २२, आईतवार १५:४५ प्रकाशित