नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आह्वान


काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आह्वान गरेका छन् ।

स्पेनस्थित नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले आयोजना गरेको नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरु ‘समृद्ध, नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाका साथ अगाडि बढेकाले यसका लागि बाहिरको लगानीकर्तालाई प्रोत्साहन दिइँदै आएको बताए ।

प्रधानमन्त्री ओलीले दुई देशबीच अर्थपूर्ण व्यावसायिक साझेदारी विस्तारका लागि यो छलफलले ऊर्जा दिएको बताउँदै विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको नेपाल र शान्तिको अग्रदूत एवं सांस्कृतिक इतिहास भएको मुलुकमा लगानी गर्ने उपयुक्त अवसर भएको चर्चा गरे ।

कार्यक्रममा नेपाल उद्योग, वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पर्यटन, कृषि, सूचना प्रविधि आदिका क्षेत्रमा लगानीको राम्रो सम्भावना भएको बताउँदै सरकारले कानूनी र अन्य सहजीकरण गरेकाले उचित वातावरण रहेको जानकारी गराए ।

स्पेनका उद्योग, वाणिज्यसँग सम्बन्धित सरकारी र संस्थाका प्रतिनिधिहरुले आफूहरु दुई देशबिचको आर्थिक र व्यापारिक सम्बन्धलाई थप अभिवृद्धि गर्न तत्पर रहेको बताएका थिए । कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानी मन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतकुमार राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुुमार श्रेष्ठ, खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, स्पेनका लागि नेपाली राजदूत शनील नेपाललगायत सहभागी रहेका थिए ।

स्पेनको सेभिल्ला (सेभिया) मा भएको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तराराष्ट्रिय सम्मेलनका कार्यक्रममा भाग लिएर प्रधानमन्त्री ओली मेड्रिड फर्किएका हुन् ।

२०८२ असार १९, बिहीबार ०६:५९ प्रकाशित
ट्रेन्डिङ समाचार