
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको विचारलाई मार्गदर्शन मानेर मुलुक अघि बढिरहेको बताएका छन् ।
मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित ‘जबजका तीन दशक’ राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै ओलीले भण्डारीको नेपालको राजनीतिमा महत्त्वपूर्ण योगदानको चर्चा गरे ।
उनले विश्वमा वामपन्थी र समाजवादी आन्दोलनमाथि गम्भीर सङ्कट र शङ्का उत्पन्न भएको समयमा भण्डारीको नेतृत्वमा नेकपा एमालेले नयाँ विचार प्रस्तुत गरेको उल्लेख गरे । सिद्धान्तको रक्षा गर्दै समयानुकूल रणनीति अपनाएर वामपन्थी र समाजवादी आन्दोलनलाई अघि बढाउनुपर्ने भण्डारीको दृष्टिकोण रहेको प्रधानमन्त्री ओलीले बताए ।
२०८२ असार १४, शनिबार १५:५७ प्रकाशित