
काठमाडौ । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतार सरकारको आधिकारिक सूचना र निर्देशन पालना गर्न अनुरोध गरेको छ । इरानले कतारमा रहेको अमेरिकी सैन्य अखडामा आक्रमण सुरु गरे लगत्तै आफ्ना नागरिकलाई सतर्क रहन भन्दै नेपाली दूतावासले सूचना जारी गरेको हो ।
जारी सूचनामा ‘शान्तिपूर्ण रहन र कतार सरकारको आधिकारिक सूचना र निर्देशन पालना गर्न अनुरोध’ गरिएको छ । राजदूतावासले भनेको छ, ‘वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गर्दछौँ । कृपया शान्तपूर्वक रहन र कतार सरकारको आधिकारिक सूचना, र निर्देशन पालना गर्न अनुरोध गर्दछौँ ।’
कतारले केही समयअघि आफ्ना नागरिक र पर्यटकहरूको सुरक्षाका लागि भन्दै हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको घोषणा गरेको थियो ।
इरानले सोमबार राति कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेको छ ।
बिबिसीका अनुसार कतारले अमेरिकाद्वारा सञ्चालित अल उदैद सैन्य अड्डामाथि आक्रमण भएको पुष्टि गरेको छ। यो हमलाबाट मानवीय क्षतिको रिपोर्ट अहिलेसम्म प्राप्त भएको छैन।
अल उदीद सैन्य अड्डा अमेरिकी संयुक्त हवाई अभियान केन्द्रको मुख्यालय हो, जहाँबाट सम्पूर्ण क्षेत्रभर अमेरिकी हवाइ शक्ति सञ्चालनको कमान्ड र नियन्त्रण गरिन्छ । यसै अड्डामा विश्वकै सबैभन्दा ठूलो ‘३७९ औं एयर एक्सपेडिसनरी विङ’ पनि अवस्थित छ।