
–उजुरी फस्र्यौट गर्न विभागद्धारा विभिन्न विकल्प प्रस्ताव
काठमाडौं ।
विदेशमा कमाउन गएका नेपालीहरूलाई देशभित्रै ठग्ने श्रृंखला अचाक्ली रुपमा बढ्दै गएको छ । वैदेशिक रोजगारीको नाममा हुने ठगीको संख्याले वर्षेनी रेकर्ड तोडिरहँदा सिंगो सरकारले भने त्यसलाई रोक्न प्रभावकारी कदम चाल्न सकिरहेको छैन् ।
वैदेशिक रोजगार विभागमा हालसम्म जम्मा ३६ हजार ठगीसम्बन्धी उजुरी दर्ता भएका छन् । यीमध्ये गत एक वर्षमै ६ हजारभन्दा बढी उजुरीहरू थपिएको हो । तर विभागमा यी उजुरीहरु हेर्ने र कारवाही गर्ने अनुुसन्धान अधिकृत जम्मा ५ जना मात्रै छन् । जसका कारण उजुरीहरु अलपत्र पर्दै आइरहेका हुन् ।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराइले विभागमा परेका ठगीका उजुरीहरुको क्रम हेर्दा हाल विभागमा रहेका ५ जना अनुसन्धान अधिकृतबाट फस्र्यौट हुनै नसक्ने र जनशक्ति र स्रोत साधन थप नहुने हो भने यो अवस्था झनै भयावह भएर जाने चिन्ता व्यक्त गर्नुभयो ।
विभागले शुक्रबार आयोजना गरेको ‘वैदेशिक रोजगार कसुर सम्वन्धि अनुसन्धान अभियोजन, न्याय सम्पादन तथा सहजीकरण विषयक अन्तरसंवाद कार्यक्रममा महानिर्देशक भट्टराइले वैदेशिक रोजगारीमा हुने ठगीको कहालीलाग्दो तथ्यांक प्रस्तुत गर्दै ठगीका उजुरीलाई फस्र्यौट गरी पिडितलाई न्याय दिन हालको जनशक्तिबाट असम्भव हुने दावी गर्नुभयो । उहाँले पिडितलाई न्याय दिलाउन विभिन्न विकल्पहरु पेश गर्दै विभागमा अनुसन्धान अधिकृत लगायतका जनशक्ति थप्नुपर्ने र विभागलाई साधनस्रोत सम्पन्न बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिह भण्डारी, सरकारका मुख्य सचिव एकनारायण अर्याल, गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक दिपक थापा, श्रम सचिव कृष्णहरि पुश्कर तथा सरोकारवाला निकायका उच्च पदस्थहरु संलग्न रहेको सो कार्यक्रममा वैदेशिक रोजगारमा हुने ठगी रोक्न र ठग्ने विरुद्ध शसक्त कारवाही हुने गरी आवश्यक संस्थागत तथा कानुनी संरचना तयार गर्नुपर्ने आवश्यकता औल्याइएको थियो ।
कार्यक्रममा प्रहरी समेत थप गरी ६० जना अनुसन्धान अधिकृत थप गर्दा पनि हाल रहेका वैदेशिक रोजगारी ठगी सम्वन्धि ३६ हजार उजुरीहरु फस्र्यौट गर्न कम्तिमा ४ वर्ष लाग्ने विकल्प पेश गरिएको थियो । यसैगरी ६ वटा प्रदेशस्तरमा श्रम कार्यालयले अनुसन्धान गरी सम्वन्धि कार्यालय मार्फत सम्वन्धित अदालतमा मुद्दा दायर गर्ने तथा अनुसन्धानको अधिकार सम्वन्धित स्थानीय प्रहरीलाई दिई अभियोजन र न्यायसम्पादनको कार्य समेत सम्वन्धित कार्यालय र जिल्ला अदालतलाई दिनुपर्ने विकल्प समेत अघि सारिएको थियो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिह भण्डारीले पनि वैदेशिक रोजगारीमा ठगी हुने क्रम अत्याधिक रहेको स्वीकार्नुभयो । उहाँले वैदेशिक रोजगारीमा जाने क्रममा मृत्यु, ऋण र डिजिटल ठगी जस्ता गम्भीर संकटहरु रहेको स्वीकार्दै यो संकट समाधान गर्न अब ढिलाई गर्न नहुने बताउनुभयो । अब यस क्षेत्रमा समस्या पहिचान गरी ठुलो अप्रेशन गर्नुपर्ने आवश्यकता मन्त्री भण्डारीले औल्याउनुभयो ।
मुख्य सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीमा संगठित ठगी भइरहेकाले ठगी रोक्न सरकारका सरोकारवाला सबै निकायको समन्वयत्मक र सार्थक पहल आवश्यक रहेको बताउनुभयो । उहाँले गरीब विपन्न र ऋण गरेर विदेश जान खोज्ने विपन्न नागरिकलाई ठगी गर्नु महाअपराध भएकाले त्यस्ता ठगहरुलाई पाता कसेर कानुनी दायरामा ल्याउन अब ढिलाई गर्न नहुने आवश्यकता औल्याउनुभयो । यस्तै गृहसचिव गोकर्णमणि दुवाडीले वैदेशिक रोजगारीमा हुने ठगीलाई निरुत्साहित पार्नुपर्ने र कडा कारवाही हुने पर्ने बताउदै वैदेशिक रोजगारीमा जानेहरु पनि सचेत र सतर्क बन्नुपर्ने आवश्यकता औल्याउनुभयो । श्रम सचिव कृष्णहरि पुश्करले ठगी रोक्न वैदेशिक रोजगारलाई थप व्यवस्थापन गरिने र त्यसका लागि विद्यमान ऐन कानुनमा समसामयिक सुधार गर्ने पहल भइरहेको बताउनुभयो । प्रहरी महानिरीक्षक दिपक थापाले वैदेशिक रोजगारीमा हुने ठगी रोक्न प्रहरीले सशक्त सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । वैदेशिक रोजगार न्यायाधिकरणका सदस्य रामबहादुर थापाले वैदेशिक रोजगारीमा हुने ठगी विरुद्ध अनुसन्धान गरी कारवाही प्रक्रियालाई द्रुत गतिमा अघि बढाउन विभिन्न समस्या र चु्नौती रहेको बताउनुभयो ।
ठगीको शिकार श्रमिक र विपन्न , उन्मुक्तिमा दलाल!
वैदेशिक रोजगार विभागमा उजुरी गर्ने अधिकांश नेपाली श्रमिक वर्षौंदेखि न्यायको पर्खाइमा छन् भने ठग म्यानपावर संचालक, बिचौलिया र दलालहरू अझै स्वतन्त्र घुमिरहेका छन् ।ठगीएका विपन्नहरु कैयौ वर्ष देखि प्रताडित छन् ।
सरकारी संयन्त्र कमजोर हुँदा यस्ता म्यानपावरहरूले खुलेआम व्यापार चलाइरहेका छन् र सर्वसाधारणहरु ठगिने र आक्रान्त हुने क्रम बढिरहेको बताइएको! छ । कतिसम्म भने पिडितहरु आत्महत्या गर्न समेत बाध्य हुने गरेको कहालीलाग्दो अवस्था रहेको बताइएको छ ।