ADVERTISEMENT

आज विजया दशमी, बिहान १०:२६ बजे टीकाको उत्तम साइत

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी हर्षोल्लासका साथ मनाइँदै छ। यस अवसरमा नेपालीहरूले मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दैछन्।

 

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ भने देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा निर्धारण गरिएको छ।

 

समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेहरूका लागि बिहान १०:२६ बजेको समय उत्तम मानिएको छ।

 

साइतमा टीका लगाउँदा टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्ने समितिले जनाएको छ।

 

दशैंका अवसरमा परिवार तथा आफन्तजन भेला भई दुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्दै आशीर्वाद लिने परम्परा छ।

 

रोजगारी, अध्ययन तथा व्यवसायका कारण घरबाट टाढा रहेका नेपालीसमेत दशैं मनाउन घर फर्किने भएकाले यस पर्वले पारिवारिक पुनर्मिलनको अवसर प्रदान गर्छ।

 

कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै मान्यजनबाट टीका र आशीर्वाद थाप्ने चलनसमेत रहेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार