काठमाडौं । हिन्दू नेपालीहरूको महान् पर्व बडादशैं अर्थात् विजयादशमी आज हर्षोल्लासका साथ मनाइँदैछ। दुर्गापक्षको मुख्य दिनका रूपमा मनाइने विजयादशमीमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। यस दिन परिवार तथा आफन्तजनबीच भेटघाट गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासहित दशैं मनाइन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटपछि देवी विसर्जन गरी टीका लगाउन सकिनेछ। समितिले टीका ग्रहणका लागि उत्तम साइत बिहान १० बजेर २६ मिनेट निर्धारण गरेको छ।
यद्यपि, उत्तम साइतमै टीका लगाउन नपाए दशैंको टीका लगाउनै नमिल्ने भन्ने होइन। मान्यजनबाट टीकाप्रसाद ग्रहण गर्न साइतकै विषयलाई लिएर अनावश्यक द्विविधा लिन नपर्ने समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराई बताउँछन्। उनका अनुसार बिहान घाम झुल्किएपछि विधिपूर्वक टीका ग्रहण गरेर टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीका थाप्न जान सकिन्छ।
टीका लगाउने र लगाइमाग्ने कुन दिशातर्फ फर्किने ?
विजयादशमीमा टीका लगाउँदा र लगाइदिँदा कुन दिशातर्फ फर्किने भन्ने विषयमा पनि चासो रहने गरेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ र टीका लगाइदिने व्यक्ति पूर्वतर्फ फर्किनुपर्ने जनाएको छ।
धार्मिक परम्पराअनुसार दक्षिण दिशा पितृकर्मसँग सम्बन्धित मानिने भएकाले दशैंको टीका लगाउँदा दक्षिण फर्किने चलन नरहेको बताइन्छ। कतिपयले चन्द्रमाको अवस्था र साइतलाई समेत आधार मानेर दिशा निर्धारण गर्ने गरे पनि सामान्य रूपमा टीका लगाउने व्यक्तिले पूर्व र लगाइमाग्ने व्यक्तिले पश्चिम फर्किने परम्परा प्रचलित छ।
टीका लगाउनुअघि के–के गर्ने ?
दशैंको टीका लगाउने प्रक्रिया देवी विसर्जनबाट सुरु हुन्छ। धार्मिक विधिअनुसार देवी विसर्जन गरेपछि सर्वप्रथम कुलदेवता र पितृदेवतालाई टीका तथा जमरा अर्पण गर्ने परम्परा छ। कतिपय समुदाय तथा परिवारमा घरको मूल ढोकामाथि टीका लगाउने चलन पनि रहेको छ।
दुर्गा विसर्जनपछि कलशमा राखिएको जललाई पवित्र मानी त्यसबाट अभिषेक गर्ने धार्मिक मान्यता छ। इष्टदेवता र कुलदेवताको स्मरण गर्दै कलशको जल प्रयोग गरी जमरा काट्ने र आवश्यक विधि पूरा गरेपछि टीका लगाउने परम्परा छ।
घरमा गुरु वा पुरोहितबाट पूजा तथा जमरा स्थापना गरिएको भए उहाँहरूबाट टीका र जमरा ग्रहण गर्ने चलन छ। त्यसपछि परिवारका ज्येष्ठ सदस्य तथा अन्य मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने गरिन्छ। यद्यपि, यस्ता विधि तथा परम्परामा समुदाय, क्षेत्र र परिवारअनुसार भिन्नता पाइन्छ।
उत्तम साइत कुर्नैपर्छ कि जुनसुकै समयमा टीका लगाए हुन्छ ?
दशैंको टीकाका लागि उत्तम साइत बिहान १० बजेर २६ मिनेट तोकिए पनि सबैले सोही समयमा टीका लगाउनैपर्छ भन्ने बाध्यता नरहेको धार्मिक जानकारहरू बताउँछन्। कामविशेषले हतार गर्नुपर्ने, टाढाको यात्रा गर्नुपर्ने वा निर्धारित साइतमा उपस्थित हुन नसक्ने अवस्थाका लागि पनि टीका ग्रहण गर्न सकिने उनीहरूको भनाइ छ।
परम्परागत रूपमा बिहान घाम झुल्किएपछि मान्यजनबाट टीका ग्रहण गर्ने र त्यसपछि अन्य आफन्तकहाँ टीका थाप्न जाने चलन छ। यसैले उत्तम साइतमा टीका लगाउन नपाएकै कारण दशैंको टीका छुट्ने वा पछि लगाउन नहुने भन्ने मान्यता राख्न आवश्यक नरहेको प्रा. डा. भट्टराई बताउँछन्।
विशेषगरी विदेशबाट ढिलो गरी नेपाल आइपुग्ने वा पारिवारिक परिस्थितिका कारण निर्धारित समयमा टीका लगाउन नसक्ने व्यक्तिले पनि मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण गर्न सक्ने उनको भनाइ छ।
टीका र जमरा : आशीर्वाद, समृद्धि र पारिवारिक एकताको प्रतीक
बडादशैंको विजयादशमीलाई असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा लिइन्छ। यस दिन रातो टीका र जमरा लगाउनुका साथै मान्यजनबाट आशीर्वाद लिने परम्पराले परिवारबीचको आत्मीयता, सद्भाव र सामाजिक एकतालाई बलियो बनाउने विश्वास गरिन्छ।
दशैंको टीका केवल धार्मिक विधिमा सीमित नभई टाढिएका परिवारजन तथा आफन्तलाई नजिक ल्याउने, आपसी सम्बन्ध नवीकरण गर्ने र अग्रजप्रति सम्मान व्यक्त गर्ने अवसर पनि हो। त्यसैले उत्तम साइतको सम्मान गर्दै आफ्नो पारिवारिक तथा धार्मिक परम्पराअनुसार टीका ग्रहण गर्नुका साथै पर्वलाई आपसी सद्भाव र खुसीका साथ मनाउनु विजयादशमीको मुख्य सन्देश हो।




प्रतिक्रिया