काठमाडौं
वैदेशिक रोजगार विभागले अबदेखि विदेशमा रोजगारीका लागि पठाउने इजाजत प्राप्त सँस्था (म्यानपावर) नवीकरण गर्दा सँस्था रहेको डिजिटल ठेगाना खुल्ने गरी गुगल प्लस कोड उपलब्ध गराउनुपर्ने र सँस्थाको वेभ साइटमा समेत अनिवार्य रुपमा राख्नुपर्ने प्राबधान बनाएको छ ।
यसरी राखिएको लोकेशन अनुसार सो सँस्थामा जाने सेवाग्राही र विभागको अनुगमनमा समेत सहजता आउने र एक्काइसौं शताव्दीमा सूचना प्रविधिको उच्चतम् प्रयोग गर्दा त्यसले परिणाम पनि राम्रो दिने विभागका महानिर्देशक कमल प्रसाद भट्टराइले जानकारी दिनुभयो ।
विभागले जेठ २६ गते एक सूचना प्रकाशन गरी वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली २०६४, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ एवम् प्रचलित कानून बमोजिम सम्बन्धित निकायमा दर्ता भई वार्षिक रुपमा नवीकरण गर्नुपर्ने वैदेशिक रोजगार सम्बन्धी काम गर्ने इजाजत प्राप्त संस्थाहरु, स्वीकृति प्राप्त शाखा कार्यालयहरु, अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरु, केयर गिभर सम्बन्धी सिप विकास तालिम प्रदायक संस्थाहरु, घरेलु कामदार सम्बन्धी सिप विकास तालिम प्रदायक संस्थाहरु, वैदेशिक रोजगारमा जाने कामदारहरुलाई सिपमूलक तालिम प्रदान गर्ने संस्थाहरु एवम् खास देश पठाउनको लागि सूचीकृत भएका संस्थाहरुले तत् तत् कानून बमोजिम तोकिएको समयावधि भित्र इजाजतपत्र÷अनुमतिपत्र नवीकरण गर्नुपर्ने जनाएको हो । विभागले सोही अनुसार नगरिएमा कानून बमोजिम आवश्यक कारवाही गरिने जनाएको छ ।
सो सूचनाको विस्तृत विवरण विभागको वेभसाइटमा प्राप्त गर्न सकिने विषय उल्लेख गर्दै नवीकरण गर्दा आवश्यक पर्ने आधारभूत कागजातको अतिरिक्त गुगल प्लस कोड पीजेप्लस गुगल्स लोकेशन र मौजुदा सबै सञ्चालक एवं कार्यरत कर्मचारीहरुको विवरण समेत निवेदन साथ पेश गर्नु पर्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।
विभागले यस अघिका वर्षहरुमा प्रत्येक वर्ष सूचना निकालेर कानूनमा भएको व्यवस्थालाइ आव्हान गर्ने गरेकोमा यस वर्षदेखि प्रचलित कानूनमा भएको प्रावधान बमोजिम सम्बन्धित सँस्थाले अद्यावधिक गर्नुपर्ने विभागका महानिर्देशक कमल प्रसाद भटराइले जानकारी दिनुभयो।
कानूनमा भएको व्यवस्था प्रत्येक वर्ष असार महिनाभित्र इजाजत प्राप्त सँस्था एवं अभिमूखीकरण तालिम प्रदायक सँस्था र असोज मसान्तभित्र म्यानपावरका शाखा कार्यालय नविकरण गरिसक्नुपर्ने महानिर्देशक भट्टराईले जानकारी दिनुभयो ।


