काठमाडौं
गृह मन्त्रालयले कास्की, बर्दिया , धनुषा लगायतका प्रमुख जिल्ला अधिकारी(सिडिओ) को सरुवा गरेको छ । जसअनुसार बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई कास्कीको सिडिओमा सरुवा गरिएको छ । कास्कीका सिडिओ भरतमणि पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । बर्दिया जिल्लाको सिडिओमा मन्त्रालयमा अतिरिक्त समूहमा रहेका सुरेन्द्र पौडेललाई पठाइएको छ । यसैगरी मन्त्रालयले धनुषाका प्रजिअ रामु राज कडरियालाई मन्त्रालयमा ल्याइएको छ भने सुर्खेतबाट केही समयअघि मन्त्रालय ल्याइएका शंकरहरि आचार्यलाई धनुषाको प्रजिअको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, पाँचथरको सिडिओमा मन्त्रालयका सहसचिव अरुण पोखरेललाई पठाइएको छ । पाँचथरका विष्णु प्रसाद कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृत बनाइएपछि पाँचथरमा सिडिओ रिक्त रहदै आएको थियो ।


