– निजामती सेवा ऐन र नियमावलीको ठाडो उल्लंङ्घन
–निजामती प्रशासनमा हस्तक्षेपको पारो बढ्दो
काठमाडौ ।
राजनीतिक नेतृत्वले कर्मचारी क्षेत्रमा ‘राम्रा मान्छे भन्दा पनि हाम्रा मान्छे’ खोजेर सरुवा गर्ने प्रवृत्ति अत्याधिक बढाउन थालेपछि निजामती प्रशासनको कामकाज प्रभावित हुन थालेको छ । वर्तमान सरकारले पनि छोटो छेटो समयमा कर्मचारी सरुवा गर्ने प्रवृत्तिलाई तीव्रता दिन थालेपछि कर्मचारी वर्गमा आतंक छाउन थालेको छ ।
विभिन्न मन्त्रालयमा राजनीतिक नेतृत्वको रुपमा आएका मन्त्रीहरुले मातहतका विभाग तथा संवेदनशील निकायमा पठाउने प्रशासनिक नेतृत्वको ‘ट्रयाक’ रेकर्ड लगायतका उपलब्धिहरु केहि पनि नहेर्ने र स्वार्थका आधारमा पठाउने क्रम बढेको पाइएको छ । विशेष गरी सहसचिवको सरुवामा बढि लफडा हुन थालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरुको दावी छ । उता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि सरुवा मापदण्ड बनाउन नसक्दा मनलाग्दी सरुवा गरिरहेको छ । सामान्यले पनि कुनै मापदण्ड नबनाएर आफुनिकटका उपसचिव, शाखा अधिकृत, नायब सुब्बा लगायतलाई आकर्षक ठाउँमा पठाइरहेको छ । जसका कारण ती सरुवाहरु पनि विवादित छन् ।
सामान्यले कर्मचारी सरुवा गर्दा निजामती सेवा ऐन र नियमावलीको ठाडो उल्लंङ्घन गरिरहेको कर्मचारीहरुको गुनासो छ । केहि दिन अघि ७८ जना सहसचिवको सरुवा गर्दा पनि शक्तिकेन्द्रको दवाब र रुचिका आधारमा गरिएको व्यापक गुनासाहरु आएका थिए ।
मुख्य सचिवको अध्यक्षमा बसेको सचिव बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा मापदण्ड बनाएर मात्रै सरुवा गर्ने निर्णय धेरै पटक गरेको भएपनि मन्त्रालयले सचिव बैठकको सो निर्णय अलपत्र पार्दै आइरहेको छ । मन्त्रीहरु नै केहि शक्तिशाली सहसचिवहरुको रुचि अनुसार चल्न पुग्दा सरुवाहरु विवादित समेत हुने गरेका छन् ।
कर्मचारी सरुवा सामान्य प्रक्रिया हो । तर सरुवा सम्वन्धि स्पष्ट नीति र मापदण्ड नहुदा सरुवा बढि विवादित हुने गरेको प्रशासनविद्को भनाई छ । प्रशासन विद् श्यामप्रसाद मैनालीले मन्त्रीहरुले नै राम्रा मान्छे भन्दा पनि हाम्रा मान्छे छान्ने प्रवृत्तिलाई व्यापक बनाउने गर्दा सरुवा सम्वन्धि नीति बन्न नसकेको बताए । ‘सरुवा नीति र मापदण्ड बनाउन मन्त्रीहरु नै अनिच्छुृक देखिन्छन्, किनकी नीति र मापदण्ड बनाउदा चलखेल गर्न पाउदैनन्।’ मैनालीले भने । कतिपय सरुवाको सुची बाहिरै बनेर आउने गर्दा पनि प्रशासन माथि अनावश्यक हस्तक्षेप भइरहेको हो ।
अहिले कैयौ सहसचिव तथा उपसचिवहरु आफै सरुवाको लागि नेताकहाँ दौडधूप गर्ने क्रम बढेको छ । सामान्य प्रशासन मन्त्रालयको राजनीतिक नेतृत्व नीतिगत तहमा सुधार गर्ने भन्दा पनि कर्मचारी सरुवामा मात्रै केन्द्रित हुन थालेको स्रोतको दावी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले मन्त्रालयले पछिल्लो समय कार्यतालिका बनाएर सरुवा गरिरहेको भएपनि मापदण्ड भने बनाउन नसकिएको स्वीकारे ।


