मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त


मुख्य सचिवमा वरिष्ठ सचिव एकनारायण अर्याल नियुक्त हुनुभएकाे छ । हाल गृहसचिव रहनुभएका अर्याललाई सरकारले यही १५ भदौदेखि लागू हुने गरी नेपालको २८ औं मुख्य सचिवमा नियुक्त गरिएको हो। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई १५ भदौदेखि लागू हुने गरी मुख्य सचिव नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

निजामती प्रशासन अत्यधिक कमजोर बनिरहेको र आमकर्मचारीले अभिभावकविहीन अनुभूति गरिरहेको अवस्थामा उहाँको नियुक्तिलाई निजामती सेवाको अभिभावकत्व ग्रहण गरेको छ ।

अर्याल निजामती प्रशासनमा इमान्दार, निर्भीक र काबिल प्रशासकको रूपमा परिचित हुनुहुन्छ । त्यसैले निजामती प्रशासनमा चुनौती नै चुनौती रहेको अवस्थामा मुख्य सचिव बन्नुभएका उहाँले चुनौतीलाई अवसरमा परिणत गरी निजामती प्रशासनलाई सशक्त बनाउँदै स्पष्ट गति प्रदान गर्ने विश्वास आम कर्मचारीले गरेका छन्। निजामती प्रशासनमा अर्यालको मुख्यसचिव नियुक्तिलाई ‘राइटमेन इन राइट प्लेस’का रुपमा समेत विश्लेषण गरिएको छ ।

मुख्य सचिव लीलादेवी गड्तौलाले शुक्रबारदेखि अनिवार्य अवकाश पाउने भएकाले अर्याललाई नयाँ मुख्य सचिव बनाइएको हो । मुख्य सचिवको दौडमा अन्य सचिवहरू दिनेश भट्टराई, तोयानारायण ज्ञवाली, रामकृष्ण सुवेदीलगायत रहेका थिए । सरकारले उत्कृष्ट कार्यसम्पादनका आधारमा अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो।

निजामती सेवा ऐनको दफा १९ को उपदफा २ को क मा बहालबाला सचिवहरूमध्ये कार्यकुशलता र जेष्ठताका आधारमा एकजनालाई सरकारले मुख्य सचिव नियुक्त गर्न सक्ने प्रावधान रहेको छ । सो ऐनअनुसार उत्कृष्ट कार्यकुशलताका आधारमा अर्याललाई मुख्य सचिव बनाइएको बताइएको छ।

अर्याल समकालीन सचिवहरूमध्ये निर्णय गर्न सक्ने, बोल्ड, कार्यसम्पादनमा अब्बल र कुशल समन्वयकर्ताको रूपमा रहनुभएको छ । उहाँ सेवा प्रवाह प्रभावकारी बनाउने र सुशासन कायम गर्ने सवालमा समेत निकै दख्खल मानिनुहुन्छ । हाल गृहसचिव रहनुभएका अर्यालले यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रहेर सुधारका विभिन्न कार्यहरू गर्नुभएको थियो ।

कलकत्ताको महावाणिज्यदूत रहँदासमेत उहाँले सफलतापूर्वक भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ हालसम्म कुनै विवादमा नपर्नुभएका निष्कलंक प्रशासकको रूपमा रहनुभएको छ । काठमाडांैमा प्रमुख जिल्ला अधिकारी रहँदासमेत उहाँले सेवा प्रवाह प्रभावकारी बनाउन उल्लेख्य भूमिका निर्वाह गर्नुभएको थियो भने कालोबजारीविरुद्ध व्यापारीका गोदाममा छापा हानेर प्रशंसा कमाउनुभएको थियो।

भूकम्पको प्रकोपमा परेका राजधानीबासीको उद्धार,उपचार, राहत र पुनःस्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेर नागरिकको मन जित्न सफल हुुनुभएको थियो । काठमाडौंको प्रमुख जिल्ला अधिकारीपछि उहाँ कलकत्तास्थित महावाणिज्यदूतमा नियुक्त हुनुभएको थियो। महावाणिज्यदूत भएर आयात व्यापार, निर्यात व्यापार, औद्योगिक कच्चा पदार्थको आयात र निर्यात व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान दिनुभएको थियो ।

२०८१ भाद्र १४, शुक्रबार १३:३१ प्रकाशित
ट्रेन्डिङ समाचार