प्रदेश प्रमुख देवकोटाद्वारा विज्ञान प्रविधि नवप्रवर्तन विधेयक प्रमाणीकरण


काठमाडौँ ।  बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले एक विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख देवकोटाले बिहीबार विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

गत साउन १६ गते प्रदेशसभाबाट पारित भएको उक्त विधेयक प्रदेश प्रमुख देवकोटासमक्ष प्रमाणीकरणका लागि विज्ञान प्रविधि नवप्रवर्तन सम्बन्धी विधेयक पेस भएको थियो । प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम सो विधेयक प्रमाणीकरण गरेका हुन् ।

प्रदेश प्रमुखबाट प्रमाणीकरण भएसँगै उक्त विधेयकले ऐनको रूप लिनेछ । प्रदेश प्रमुख देवकोटाबाट प्रमाणीकरण भएको सो विधेयकलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशित गर्नेछ । प्रमाणित भएसँगै सो विधेयक विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष ऐन, २०८१ को नाममा रहनेछ ।

विज्ञान प्रविधिका विविध क्षेत्रमा खोज, अध्ययन, अनुसन्धान, आविष्कार र नवप्रवर्तनमा लगानी गर्न उक्त ऐन निर्माण गरिएको हो । प्रविधियुक्त, गुणस्तरीय र परिणाममुखी नतिजाको माध्यमबाट आर्थिक विकास र नागरिकको जीवन पद्धतिलाई सरल तथा सहज बनाउन तथा प्रदेशको समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यले सो ऐन निर्माण गरिएको हो ।

२०८१ भाद्र ६, बिहीबार १७:३० प्रकाशित
ट्रेन्डिङ समाचार