भ्रष्टाचार नियन्त्रण सरकारको मौखिक प्रतिबद्धता मात्र होइन : प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुरु गरेका कामहरूबाट नागरिकमा आशा जाग्न थालेको दाबी गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदले गरेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले सरकारले यथार्थमा परिवर्तन ल्याउने काम गर्ने भन्दै सरकारले थालेका कामहरूबाट आशा जाग्न थालेको बताएका हुन् ।

‘हामी जनतामा रहेको निराशालाई आशामा बदल्ने प्रयासमा लागेका छौँ र छोटो परिणाम देखिन थालेका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘गतवर्षको तुलनामा साउन महिनामा राजश्व परिचालन र पुँजीगत खर्च वृद्धि भएको छ ।’ उनले घरजग्गा कारोबार वृद्धि हुँदै गएको, पुँजिबजारमा उल्लेखनीय सुधार आएको र निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको बताए ।

उनले भने,  ‘राष्ट्रका घोषित नीतिहरूको उद्देश्य पुरा गर्न यो सकारात्मक संकेत हो । यस्ता कुराहरूले अवश्य नै जनतामा निराशा होइन, आशावादित जगाउँदै जानेछ ।’ भ्रष्टाचार नियन्त्रण गर्न सरकारले लिएको नीति मौखिक प्रतिबद्धता मात्र नभएर व्यवहारमै उतार्ने र त्यसका लागि सवै निकायसँग समन्वय र सहकार्य गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको भनाइ छ ।

२०८१ भाद्र ६, बिहीबार १५:५२ प्रकाशित
ट्रेन्डिङ समाचार