राजस्व छल्नेहरूविरुद्ध ३३ अर्ब कर निर्धारण


नयाँ महानिर्देशक आचार्यको टिमले असुल गराउन सक्ला ?

काठमाडौं । आन्तरिक राजस्व विभागले गतआर्थिक वर्षसम्म कर छली गर्ने सयौं व्यापारिक फर्म तथा व्यापारीहरूको पहिचान गरी ३३ अर्ब कर निर्धारण गरेको अवस्थामा विभागको नेतृत्व फेरिएको छ ।

अर्थ मन्त्रालयले आइतबारमात्रै मन्त्रालयकै प्रशासन महाशाखा प्रमुख सहसचिव रामप्रसाद आचार्यलाई विभागको महानिर्देशकको रूपमा पठाएसँगै उहाँमाथि यसअघिको नेतृत्वले विभिन्न व्यापारिक फर्मसँग असुल्ने गरी निर्धारण गरेको ३३ अर्ब रुपियाँ असुलउपर गराउने चुनौती थपिएको छ ।

सरकारले विभागका हालका महानिर्देशक शिवलाल तिवारीलाई यसअघि नै महानिर्देशकको जिम्मेवारीबाट हटाउँदै अन्यत्र सरुवा गरेको थियो । त्यसपछि रिक्त रहेको महानिर्देशकमा अर्थ मन्त्रालयले आचार्यलाई पठाएको हो । अचार्य अनुभवी सहसचिवका रूपमा रहेका छन् ।

उनले यसअघि राजस्व अनुसन्धान विभाग र सम्पति सुुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक भएर काम गरिसकेका छन् । आचार्यसँग गृहमन्त्रालयकै विभिन्न महत्वपूर्ण निकायमा रहेर काम गरिसकेको अनुभव पनि छ ।

यद्यपि आन्तरिक राजस्व विभागमा महानिर्देशकको रूपमा आउँदा उहाँमाथि चुनौतीका चाङ रहेको राजस्व क्षेत्रका सरोकारवालाको भनाइ छ । इमान्दारिता र कर्तव्यनिष्ठताका साथ काम गर्ने हो भने उहाँले ती चुनौतीलाई सहजै समाधान गर्नसक्ने सरोकारवालाको सुझाव छ ।

यसअघि आन्तरिक राजस्व विभागले विभिन्न व्यापारिक फर्मविरुद्ध नियमित कर परीक्षण, अनुसन्धान, विस्तृत अनुसन्धान, झुट्टा बिलको अनुसन्धान गर्दा गत वर्षसम्मको ३३ अर्ब राजस्व छली भएको निष्कर्ष निकाल्दै सोहीबराबरको कर निर्धारण गरेको थियो । सो कर निर्धारण गत वर्ष १९८६ व्यापारिक फर्ममाथि गरिएको ११ अर्बको कर निर्धारणसहितको हो ।

मुलुकको र बजेटको मुख्य आम्दानीको स्रोत नै राजस्व हो । राजस्व उठाउने प्रमुख दायित्वमा रहेको आन्तरिक राजस्व विभाग र मातहतका निकायले इमान्दारीतापूर्वक काम गर्ने र राजस्व छली गर्नेहरूको पहिचान गर्नसक्ने हो भने हाल उठेको भन्दा कैया बढी राजस्व उठ्ने विज्ञहरूको भनाइ छ ।

राजस्व क्षेत्रमा कार्यरत जानकारहरूका अनुसार नेपालमा वार्षिक झन्डै ६ खर्ब बराबरको राजस्व छली हुने गरेको छ । नयाँ आउनुभएका महानिर्देशक आचार्यलाई अनियन्त्रित रूपमा हुने गरेको राजस्व छली रोक्नुपर्ने मुख्य चुनौतीसमेत छ ।
विभिन्न फर्म तथा कम्पनीहरूले पूरै फेक बिल किनेर व्यवसायमा समावेश गर्नुका साथै नक्कली बिल बनाएर कारोबार गर्ने, नक्कली बिल किनबेच गर्ने, र नक्कली बिल प्रयोग गरी कर फिर्ता समेत लिएर बद्मासी हुने गरेको छ । यसैगरी, कारोबार नै नगर्ने तर बिल मात्रै बेच्ने, खरिद बिक्री सम्बन्धि मूल्य मिलाएर , मूल्य अभिवृद्धि कर (भ्याट ) बिल, प्यान बिल नक्कली बनाएर राजस्व छली हुने गरेको बताइएको छ । राजस्व चुहावट हुने क्रम नरोकिदा सरकारले लक्ष्य गरेअनुसार राजस्व संकलन हुन सकिरहेको छैन ।
विभागका अनुसार विभिन्न अदालत तथा विभाग मातहतको प्रशासकीय पुनरावलोकमा टुंगिन बाँकी रहेका साढे २ खर्बबराबरको कर निर्धारणलाई पनि टुंगोमा पु¥याउनुपर्ने दायित्व महानिर्देशक आचार्यको काँधमा आएको छ । यी विषय लामो समयदेखि अदालत तथा प्रशासकीय पुनरावलोकमा अड्कदै आएका छन् । विभाग मातहतको प्रशासकीय पुनरावलोकनलाई छिटो टुंगाउन महानिर्देशकको महत्वपूर्ण भुमिका रहन्छ ।

विभागका अनुसार विभागले हालसम्म २ खर्बबराबरको बक्यौता असुल गर्न बाँकी रहेको छ । सो बक्यौता असुल गर्नुपर्ने च्ुनौतीसमेत नयाँ महानिर्देशक आचार्यको जिम्मेवारीमा आएको छ । विभागका अनुसार विभाग र मातहतका निकायमा गरी झन्डै १ खर्बबराबरको बेरुजु टुंगाउनुपर्ने तथा असुल उपर गर्नुपर्ने दायित्व समेत आचार्यमाथि आएको छ ।

कर छली गर्न पल्किएका पक्षलाई निरुत्साहित गर्न विशेष योजना र कार्यक्रम ल्याउनुपर्ने चुनौती आचार्यमाथि छ । यस्ता कर छली र नक्कली विलविजक प्रकरणमा न्यून मूल्यांकन अर्थात् अन्डर इनभ्वाइसिङ गरेर ल्याउने , चोरी, पैठारी, तस्करीबाट आएका सामान औपचारिक क्षेत्रमा,सार्वजनिक क्षेत्रमा र निर्माण व्यवसायमा सप्लाई गर्नेलगायत उच्च मुनाफा भएका वस्तु तथा सेवाको कारोबार गर्नेहरूकै बढी संलग्नता देखिने गरेको विभागका अधिकृतको भनाइ छ ।

विभागले नक्कली बिजक प्रयोग गरी कारोबार गरेका फर्महरूमाथि वषौंपछि पनि छानबिन गरी कर असुली गराउन सक्ने भएकाले पुराना फाइल र बद्मासीसमेत खोजी गर्नुपर्ने चुनौती नयाँ महानिर्देशक आचार्यमाथि छ ।

यस्ता छन् महानिर्देशक आचार्यका प्रमुख चुनौती
–कर निर्धारण भएको ३३ अर्ब असुल गर्नुपर्ने
–पुनरावलोकनबाट टुंगिनुपर्ने साढे २ खर्बको मुद्दा टुंगाउन पहल गर्नुपर्ने
–२ खर्बबराबरको बक्यौता असुलउपर गर्नुपर्ने
–विभाग र मातहतका १ खर्ब बेरुजु फस्र्यौट गर्नुपर्ने
–राजस्वमा हुने अत्यधिक चुहावट रोक्नुपर्ने
–राजस्व संकलन वृद्धि गर्नुपर्ने

२०८१ भाद्र ३, सोमबार ०७:४९ प्रकाशित
ट्रेन्डिङ समाचार