कर्मचारी व्यवस्थापन कसरी होला ?


विज्ञता र अनुभव  कि एसम्यान प्रवृत्ति !

– उचित व्यवस्थापन गर्न नसके सरकार असफल हुने चेतावनी
–सामान्य प्रशासन मन्त्रालय अलमलमा
काठमाडौ ।
एकैपटक २२ जना सचिवको सरुवा गरेर कर्मचारीलाई चलाउन पुगेको केपी शर्मा ओली नेतृत्वको सरकारले सिंगो कर्मचारी संयन्त्र परिचालन गर्ने गरी स्पष्ट नीति बनाउन सकेको छैन् । जसका कारण सरकारको प्रभावकारितामा प्रश्नहरू उठ्न थालेका छन् । प्रशासनविद्हरूले कर्मचारीलाई वैज्ञानिक किसिमले परिचालन गरी उचित व्यवस्थापन गर्न नसके सरकार असफल हुने चेतावनी दिँदै आएका छन् ।
यसअघिको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कर्मचारी व्यवस्थापनमा खासै ध्यान दिन नसक्दा सिंगो सरकारको कार्यसम्पादन प्रभावकारी बन्न सकेको थिएन् । अहिले केपी शर्मा ओली नेतृत्वको सरकारले पनि कर्मचारी व्यवस्थापनमा गम्भीर ध्यान पु¥याउन नसकेका गुनासा सुनिएसँगै सरकारको प्रभावकारितामाथि समेत प्रश्न उठ्न थालेको बताइएको छ ।
सरकारले २२ जना सचिव सरुवा गर्दा केही वरिष्ठ सचिरवलाई अनावश्यकरूपमा पेलेको गुनासाहरू आएका थिए । यद्यपि सचिवको सो सरुवा विवादमा नपरेकाले समग्र सचिवको सरुवालाई सकारात्मक रूपमा नै हेरिएको थियो । सरकार आउनेबितिकै सचिवहरू फेरबदल गर्ने पुरानो परम्परालाई भने ओली सरकारले पनि निरन्तरता दिएको थियो । कतिसम्म भने प्रधानमन्त्रीले मन्त्रालयका सचिवहरूसँग ब्रिफ्रिङ लिइरहेकै अवस्थामा उनीहरू सरुवामा परेका थिए ।
सरकारले सचिवहरूको सरुवा गरेसँगै कुनै पनि मापदण्ड नै नबनाई हचुवाकै आधारमा ठुलो संख्यामा सहसचिवहरूको सरुवा तयारी गरेको स्रोतले जानकारी दिएको छ । कुन कुन ठाउँ बढी संवेदनशील हुन् ? त्यस्ता ठाउँको पहिचान गरी त्यस्ता ठाउँमा असल इमान्दार र सक्षम व्यक्ति पठाउनुपर्नेमा सरकारले त्यस सम्वन्धमा खासै गृहकार्य गर्न नसकेको जनाइएको छ । यस विषयमा मुख्य सचिव लीलादेवी गड्तौलाले पनि ध्यान दिएर सहकर्मीहरूसँग छलफल गर्नुपर्नेमा त्यसो नगरेको स्रोतले जानकारी दिएको छ । यस्तै, कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने मुख्य जिम्मेवारीमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आफैँ अलमलमा छ ।
प्रशासनविद्हरूका अनुसार हरेकजसो सरकार परिवर्तन हुनासाथ उनीहरूको पहिलो काम सचिव र सहसचिवको व्यवस्थापनका नाममा हचुवामै सचिव सहसचिवको फेरबदल हुदै आएको छ । जवकि यो ‘एप्रोच’ नै गलत रहेको प्रशासनविद्को तर्क छ । प्रशासनविद् काशीराज दाहालले सरकार नयाँ बन्ना साथ कर्मचारीलाई चलाइहाल्नुलाई सकारात्मकरूपमा लिन नसकिने बताउनुभयो । ‘सरकारले आफुअनुकूल भन्दा पनि काम गर्नसक्ने काविल कर्मचारी खोज्नुपर्छ, त्यसो भएमा मात्रै सरकारको प्रभावकारिता बढेर जान्छ,’प्रशासनविद् दाहालले भन्नुभयो ।
प्रशासनविद्का अनुसार नयाँ सरकार आउनासाथ सचिव, सहसचिवलगायत कर्मचारीको फेरबदल गर्ने परिपाटी नै गलत र त्रृटिपूर्ण छ । सचिव सहसचिवहरूले परिणाम दिन नसकेको पाइएमा मात्रै सचिव सहसचिवलगायत उच्च कर्मचारी फेरबदल गर्न सकिने प्रशासनविद्को भनाइ छ । सरकारले सचिव, सहसचिव हेरफेर गर्दा कुनै मापदण्ड र वैज्ञानिक विधि अपनाउने गरेको छैन । अर्का प्रशासनविद् श्यामप्रसाद मैनालीले प्रधानमन्त्री र मन्त्रीहरूले विज्ञता र कार्यसम्पादन भन्दा पनि ‘एसम्यान’ हुने चरित्र बोकेका सचिव सहसचिव खोज्ने प्रवृुत्ति व्यापक हुँदा सरकारको कार्यसम्पादन कमजोर बनेको बताउनुभयो । सचिव, सहसचिव व्यवस्थापन गर्दा विषय विज्ञता, पहिला काम गरेको अनुभव, कार्यसम्पादन र सिनियरटीलाई विशेष प्राथमिकता दिनुपर्नेमा मैनालीको जोड छ ।
उच्च तहका कर्मचारीको सरुवा वा पदस्थापन गर्दा विज्ञता र क्षमतालाई आधार बनाउनुपर्नेमा त्यसो नगरिँदा मन्त्रालय र मातहतका निकायले अपेक्षाकृत परिणाम दिन नसक्ने प्रशासनविद्को भनाइ छ ।

 

२०८१ श्रावण २७, आईतवार १२:३६ प्रकाशित
ट्रेन्डिङ समाचार