अमेरिकी राष्ट्रपतिकी उम्मेद्वार कमलाले आगामी हप्ताबाट चुनावी अभियान सुरु गर्ने


काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतीय निर्वाचनबाट बाहिरिने घोषणापछि पहिलोपटक उनी र उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीका उम्मेदवार कमला ह्यारिसले आगामी साता आफ्नो दलको चुनावी अभियानको संयुक्त नेतृत्व गर्ने भएका छन्।

नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट रिपब्लिकन नेता ट्रम्पविरुद्धको प्रतिस्पर्धाबाट पछि हट्ने निर्णयपछि बाइडेनको यो पहिलो चुनावी सम्बोधन हुनेछ।

आफ्नो कार्यकालको अन्तिम महिनाहरूमा आफ्नो विरासतलाई जोगाउन र नयाँ डेमोक्र्याटिक उम्मेदवारलाई जिताउने अभियानमा राष्ट्रपति बाइडेनले अगस्ट १५ मा वासिङ्टन नजिकै मेरिल्याण्ड राज्यमा आयोजना हुने कार्यक्रममा उपराष्ट्रपतिको साथमा उपस्थित भएर समर्थकलाई हौसला प्रदान गर्ने घोषणा गरेका हुन्।

ह्वाइट हाउसले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेताद्वयले अमेरिकी जनताका लागि लागत घटाउन गरिरहेको कार्यक्रमलाई अभियानका क्रममा समर्थकमाझ सार्वजनिक गर्नुहुनेछ।’

अमेरिकाको मुद्रास्फीति कमजोर भएको अवस्थामा नोभेम्बरमा हुने चुनावमा आफ्नो एजेन्डालाई कसरी अघि प्रस्तुत गर्नेछन् यो अमेरिकी मतदाताले हेरिरहेको गम्भीर विषय हो।

बाइडेनले आफ्नो उमेर र मानसिक तीक्ष्णताको बारेमा चिन्ता व्यक्त गरिएको ट्रम्पविरुद्धको कमजोर बहसपछि उम्मेदवारी नदिने घाेषणा गरेका थिए।

डेलावेयरस्थित आफ्नो घरमा लामो बिदा बिताइरहेका राष्ट्रपति बाइडेनले अगस्ट १९ देखि सिकागोमा सुरु हुने डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनसम्म ह्यारिसको समर्थनमा कुनै ठूलो राजनीतिक उपस्थिति जनाउने अपेक्षा गरिएको थिएन।

तर, अमेरिकी राजनीतिमा झण्डै पाँच दशक लामो करियरबाट बाहिरिने तयारीमा रहेका डेमोक्र्याट बाइडेन आफ्नो विरासतलाई अगाडि बढाउन इच्छुक रहेको संकेत अभियानमा सहभागी हुने पछिल्लो घोषणाबाट पनि देखिएको छ।

यसको एउटा हिस्सा उनको प्रतिद्वन्द्वी र सन् २०२० को चुनावमा उनले पराजित गरेका व्यक्ति ट्रम्पविरुद्ध ह्यारिसको विजय सुनिश्चित गर्न हरसम्भव प्रयास गर्नु हो।

२०८१ श्रावण २६, शनिबार ०९:२१ प्रकाशित
ट्रेन्डिङ समाचार