ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा गरेर देश छोडेकी छन् । बिबिसीका अनुसार प्रदर्शनकारीले प्रधानमन्त्रीको निवासमा प्रवेश गरेर तोडफोड गरेपछि उनी देश छोडेर ‘सुरक्षित ठाउँ’ गएकी हुन् ।
मिडिया रिपोर्टका अनुसार शेख हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतला प्रस्थान गरेकी छन् । उनी हेलिकप्टरमा भारत गएकी हुन् । उनी आफ्नी बहिनीलाई साथमा लिएर देश छोडेको बिबिसीले उल्लेख गरेको छ ।
आइतबार भएको प्रदर्शनमा सयभन्दा बढीको मृत्यु भएपछि बंगलादेशमा प्रदर्शनले उग्र रुप लिएको थियो ।
अन्तरिम सरकार बन्ने
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि अब अन्तरिम सरकार बन्ने भएको छ । देश छोड्दा उनकी बहिनी शेख रेहाना पनि साथमा थिइन् । हसिना हेलिकप्टरमा भारतीय सहर अगरतला पुगेकी छन् ।
प्रधानमन्त्री हसिनाले देश छोडेपछि सेना प्रमुख जनरल वकार–उज–जमानले सञ्चारमाध्यमलाई सम्बोधन गर्दै बंगलादेशमा अन्तरिम सरकार बन्ने बताएका छन् । अहिले नयाँ सरकार गठन गर्न छलफल भइरहेको मिडिया रिपोर्टमा बताइएको छ ।
बंगलादेशको राजधानी ढाकामा रहेको प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासमा हजारौं प्रदर्शनकारीले आक्रमण गरेका थिए । बंगलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन सोमबार थप व्यापक भएको छ ।
विद्यार्थी नेताहरुले दिएको ‘लङ मार्च टु ढाका’ को आह्वानमा हजारौं मानिस ढाकाको उपनगरीय इलाकातर्फ र्याली गरिरहेका छन् ।
गत महिनादेखि जारी रहेको सरकार विरोधी प्रदर्शनकारी र सुरक्षा बलबीचको झडपमा झण्डै ३०० जनाको मृत्यु भएको छ । आइतबार मात्र कम्तीमा ९० जनाको मृत्यु भएको छ ।