काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेस पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने बताएका छन् ।
आइतबार सानेपामा पार्टीनिकट प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
सो क्रममा उनले पार्टीभित्र भएका गल्ती तथा कमजोरीलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताले भरोसा गर्ने ठाउँमा पुर्याउने बताए ।
उनले भने, ‘नेपाली काँग्रेस पार्टी अझ शुद्ध होस् । पार्टीको निर्णयहरूको पक्षमा चोक, चौतारामा मज्जाले वकालत गर्न पाइयोस् । बोल्न पाइयोस् । पार्टीले गर्ने निर्णयहरूको कारणले गर्दा तपाईँहरू कसैको शिर ननिहुरियोस् । कहाँ बसेर हामीले एउटा निर्णय गरेका हुन्छौँ, त्यो निर्णय गलत भयो भने अथवा गलत व्यक्ति छानियो भनेदेखि गाउँमा बसेको एउटा काँग्रेसले अनावश्यक ढंगले त्यसको उत्तर दिँदै हिँड्नुपर्ने अवस्था आउँछ । कतिपय कुरा परिणाममा पुर्याउन नसकिएको होला । तर प्रयत्न गर्ने कुरा छोडेको छैन । छोड्दैनौँ ।’