काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले रवि लामिछाने क्लबबाट पार्टीलाई अलग गराउन ३ सुझाव गर्नुपर्ने बताएका छन् ।
पार्टी सदस्य एवं शुभचिन्तकहरुलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो अपिल गरेका हुन् । उनले सार्वजनिक गरेको सुझावमा जबाफदेहिता र नैतिकताको मूल मन्त्रसहित होमिनुपर्ने बताउँदै लामिछाने क्लबबाट रास्वपालाई बाहिर ल्याउनुपर्ने उल्लेख गरेका छन् ।
यस्ता छन् उनका सुझाव
१. राष्ट्रियता
कहिले सेनाको बारेमा, कहिले मनरो डक्ट्रिन त कहिले भुटानी करण गरेर पटक पटक राष्ट्रघाती एवं देशद्रोही अभिव्यक्ति दिइरहेका व्यक्तिलाई पार्टीबाट बर्खास्त गरी पार्टीलाई राष्ट्रियताको पक्षमा सदा अडिग रहने शक्तिको रूपमा विकास गर्नपर्छ ।
२. पारदर्शिता र जबाफदेहिता
पार्टीको आर्थिक हिसाब किताब पारदर्शी हुनपर्छ । त्यस्तै, पार्टीको निर्णय प्रक्रियालाई पारदर्शी र जबाफदेही बनाउनपर्छ । पार्टी सभापतिमाथि लागेका सबै आरोपहरू उपर पार्टीभित्रै स्वतन्त्र छानबिन समिति गठन भई उहाँ पनि आफ्नो विगतप्रति पार्टी र जनतासामु पारदर्शी र जबाफदेही हुनपर्छ । पार्टीमा कोही पनि प्रश्न माथि छैन भन्ने थिति बसाल्नपर्छ ।
३. वैकल्पिक शक्तिको एकीकरण
हिजोका दिनमा हात उठाएका आधारमा केही साथीहरू जोडिए । कति पय साथीहरू छुट्नु भयो । अब सम्पूर्ण वैकल्पिक एवं स्वतन्त्र शक्तिहरूलाई एकीकरण गरी वृहत् नागरिक सभाको माध्यमबाट राष्ट्रिय स्वतन्त्र पार्टी पुनर्गठन गर्नपर्छ । समीक्षा प्रतिवेदनमा उठाइएका पार्टी सुधारका विषयहरूलाई समेटेर नवीन पार्टी निर्माण गर्न सकिन्छ । २०८४ को चुनावलाई लक्ष्यमा राखी पुराना राजनीतिक शक्तिहरू विरुद्ध सम्पूर्ण वैकल्पिक एवं स्वतन्त्र शक्तिहरू एक भई नेपाली जनताको सुशासन र विकासको आकांक्षा पूरा गर्नका लागी पारदर्शिता , जबाफदेहिता र नैतिकताको मूल मन्त्रसहित होमिनपर्छ ।