काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
बुधबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्दै गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन् ।
‘राष्ट्रिय परिचयपत्र बनाउन १ करोड ५१ लाखको विवरण संकलन भइसकेको छ । कार्ड छपाई ४३ लाख भइसकेको छ । ७६ लाख कार्ड छाप्न बाँकी छ,’ उनले भने, ‘वितरणको संख्या एक दम कम भयो । अरु सबै कुरा ठीक छ । ८ लाख ४७ हजार मात्र हामीले वितरण गरौं । वितरणको पाटोलाई तीव्रता दिनुहोला ।’
सो क्रममा गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र सरकारको सुशासन सम्बन्धित रहेको पनि बताए ।
‘नागरिकलाई राज्यले कुनै पनि सुविधा प्रधान गर्ने कुरामा राष्ट्रिय परिचयपत्र माध्यम हुने भएकाले यो सुशासनको महत्वपूर्ण पाटो हो । यो राज्यको भविष्यसँग जोडिएको छ । यसमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रशंसनीय काम गरेको छ,’ उनले भने ।