
काठमाडौँ । सांसद अमरेशकुमार सिंहले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउनुपर्ने बताएका छन् । सेवा प्रदायक र नियामक निकाय एउटै हुन नसक्ने उनले तर्क गरेका हुन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले भने, ‘दुई चार वर्षदेखि बोल्दा बोल्दा घाँटी सुकिसक्यो । तर, पैसाको अगाडि कुनै सांसदको केही लाग्दैन रहेन । नेपाल नागरिक उड्डयन प्राधिकरण सेवा प्रदायक र नियामक पनि हो । कहिले पनि सेवा प्रदायक र नियामक एउटै हुँदैन । नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरण एउटै छैन । तर, उड्डयन प्राधिकरणमा नेताहरूको खल्तीमा करोडौँ भर्नका लागि त्यहाँ डीजी बनाएर राखिएको छ । उसले समितिमा आएर सांसदहरूलाई नै थर्काएर जान्छ ।’
सांसद सिंहले नेपालीहरू भाग्यले बाँच्नुपर्ने स्थिति रहेको बताउँदै कहिले सडक दुर्घटना त कहिले हवाईजहाज दुर्घटनामा नेपालीहरूले ज्यान गुमाउनु परिरहेको जिकिर गरे । जनसङ्ख्याको अनुपातमा सडक दुर्घटनामा ज्यान गुमाउनेमा नेपाल विश्वकै शीर्ष स्थानमा पर्ने उनको अनुमान थियो ।
२०८१ श्रावण १४, सोमबार १४:२७ प्रकाशित