प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै


काठमाडौं । प्रधानमन्त्री केपी ओली आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसकाे समर्थनमा प्रधानमन्त्री बनेका नेकपा एमालेका अध्यक्ष ओलीले आज विश्वासको मत लिन लागेका हुन् ।

ओलीले आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम तय भएकाे छ ।

दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

सत्ता साझेदार अर्को ठूलो राजनीतिक दल नेपाली कांग्रेसको आज बस्ने संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गर्दै पार्टीका सबै सांसद्लाई ह्विप जारी गर्ने दलका एक नेताले जानकारी दिए ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि एक सय ३८ मत आवश्यक पर्दछ । प्रधानमन्त्री ओली गत असार २८ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

ओलीलाई नेपाली कांग्रेसका ८८, एमालेका ७८, अशोक राई नेतृत्वको जसपाका ७, जनमत पार्टीका ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका ५, लोसपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले मत दिने बताएका छन् ।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन (ह्विप) जारी गरेको छ । पार्टीले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलदेखि स्वतन्त्र सांसदहरुलाई पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेको छ ।

 

२०८१ श्रावण ६, आईतवार ०८:०५ प्रकाशित
ट्रेन्डिङ समाचार