नयाँ सरकारमा कस्तालाई बनाउने मन्त्री ?


काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार संसद्बाट विश्वासको मत नपाएपछि शुक्रबार ढल्ने निश्चितजस्तै छ । परिस्थितिमा कुनै नाटकीय परिवर्तन नभए शुक्रबार नै एमाले काग्रेससहितका दलको नयाँ गठबन्धबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने करिब करिब निश्चित छ । ओलीले शुरूमा सानो मन्त्रिपरिषद् बनाउने बताइएको छ ।

तर, प्रधानमन्त्री तथा एमाले काग्रेसको गठबन्धनका प्रमुख नेताले सरकारमा मन्त्री पठाउँदा कार्यसम्पादनमा उत्कृष्टता देखाउन सक्ने, इमान्दार, नैतिकवान, जनउत्तरदायी र अहोरात्र काममा खटेर शतप्रतिशत परिणाम दिनसक्ने व्यक्तिलाई मन्त्री बनाउनुपर्ने राजनीति तथा प्रशासनविज्ञहरूको सुझाव छ ।

यसअघिका सरकार तथा मन्त्रीको कार्यशैलीले जनतामा निराशा फैलिरहेकोमा अब अमजनतामा आशा र भरोषा जगाउन असल , इमान्दार र चौबिसै घण्टा काम गरेर मन्त्रालयको काममा कम्पन ल्याउनसक्ने सक्षम व्यक्तिलाई मन्त्री बनाएर काममा खटाउनुपर्ने आवश्यकता विज्ञले औल्याएका छन् ।

मन्त्री छनौटका २० आधार यस्ता हुन सक्छन्
१. योग्यमध्ये असल र उत्कृष्ट क्षमताका ‘भिजन’ दिन सक्ने
२ समष्टिगत राष्ट्रिय हित केन्द्रबिन्दुमा राख्न सक्ने
३.सधैं जनताकै निकट रही काम गरिरहेको
४. निजीभन्दा सार्वजनिक हित प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेलेको
५. उच्चस्तरको नैतिकता र आचरण प्रदर्शन गरेको
६. पार्टी घोषणापत्रअनुसार मन्त्रालयको नीति बनाउन र कार्यान्वयनमा दक्ष
७.राजनीति–प्रशासन सीमा र अन्तरसम्बध प्रस्ट बुझ्न सक्ने
८. पार्टी विभागमा रहँदा सम्बन्धित मन्त्रालयको काममा अनुभवी
९.तडकभडक नअपनाई सादा जीवनशैली अपनाउँदै आएको
१०. सम्पति विवरण वर्षैपिच्छे सार्वजनिक गर्नसक्ने
११. मन्त्रिपरिषद् बैठकमा आफ्नो मन्त्रालय सम्बन्धित विषयमा स्पष्ट र वस्तुगत किसिमले प्रस्तुति दिन सक्ने
१२. उच्च निर्णय क्षमता र सूचना प्रविधिबारे जानकार
१३. राज्य कोषमा गिद्धेदृष्टि नलगाउने र अथाह सुविधा नखोज्ने
१४. अन्य मन्त्रालयको काममा समेत सहजीकरण, समन्वय र सहकार्य गर्नसक्ने
१५. कर्मचारी परिचालन गर्नसक्ने खुबी र ल्याकत भएको
१६. मन्त्रालयको सम्पूर्ण कार्यमा कम्पन ल्याउनसक्ने
१७. जोखिम र चुनौती सहजै मोल्नसक्ने, जनप्रिय कार्यक्रम ल्याउनसक्ने
१८. २४सैं घण्टा खट्न सक्ने (रेडी टु वर्क)
१९. भ्रष्टाचारमा शून्य सहनशीलता नीति मनैदेखि आत्मसात् गर्न सक्ने
२०. काममा लचिलो, सरल व्यवहार र नतिजामा प्रतिबद्ध

२०८१ असार २८, शुक्रबार १२:४६ प्रकाशित
ट्रेन्डिङ समाचार