कामचलाउ सरकारद्वारा विवादाष्पद निर्णय गर्ने प्रयास


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाँदाजादै विभिन्न विवादाष्पद निर्णय गर्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार अन्तिम मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको हो । शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिने निर्णय गरेका उहाँले विश्वासको मत नपाएमा पदमुक्त हुुनुहुनेछ । त्यसअघि बिहीबार नै मन्त्रिपरिषद् बैठक राखेर दूरगामी निर्णय गर्ने तयारीमा जुट्नुभएको हो ।

यद्यपि निमित्त मुख्यसचिव लीलादेवी गड्तौलाले भने काम चलाउ भइसकेको सरकारले गरेका कुनै पनि दूरगामी असर पर्ने निर्णयहरू आफूले प्रमाणित नगर्ने अडान राख्दै आइरहनुभएको छ । त्यसैले यसबीचमा सरकारले गर्ने कुनै पनि महत्वपूर्ण निर्णय स्वतः निष्क्रिय हुने निश्चितजस्तै देखिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले निमित्त मुख्यसचिव गड्तौलालाई विहीबार मन्त्रिपरिषद्को बैठक राख्न निर्देशन दिनुभएको छ । तर, मुख्यसचिव गड्तौलाले मन्त्रिपरिषद्को निर्णय प्रमाणित नगर्ने बताएपछि प्रधानमन्त्री प्रचण्ड झस्कनुभएको छ । जेसुकै भएपनि प्रधानमन्त्री प्रचण्ड अन्तिम मन्त्रिपरिषद् बैठक राखेर केही नियुक्ति गर्नेगरी अगाडि बढ्नुभएको छ ।

तर ती नियुक्ति प्रमाणित नभई निष्क्रिय हुने निश्चित छ । ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने ।

केही मन्त्रीले मन्त्रालयका सचिवलाई जाँदाजाँदै महत्वपूर्ण नियुक्तिसम्बन्धी प्रस्ताव तयार पार्न लगाउँदा सचिवहरूसमेत धर्म संकटमा पर्न थालेका छन् । जसका कारण सचिवहरू आतंकित बन्न थालेका छन् ।
स्रोतका अनुसार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न देशमा महावाणिज्यदूतको नियुक्तिका लागि प्रस्ताव तयार पार्न परराष्ट्र सचिव सेवा लम्साललाई दबाब र निर्देशन दिँदै आइरहनुभएको छ । परराष्ट्रमन्त्री श्रेष्ठले केही सहसचिवलाई परराष्ट्र मन्त्रालयमा सरुवा गर्न प्रस्ताव तयार पार्न संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीलाई दबाब दिँदै आउनुभएको छ । परराष्ट्रमन्त्री श्रेष्ठले कलकत्तामा महावाणिज्यदूतका लागि सहसचिव नवराज ढुंगाना, ग्वान्जाओका लागि नारायणदत्त भट्ट, बेइजिङका लागि अनिता निरौला तथा हङकङका लागि नरेन्द्र रानाको नियुक्तिका लागि प्रस्ताव तयार पार्न परराष्ट्र सचिवलाई तीव्र दबाब दिइरहेको स्रोतले जानकारी दिएको छ । परराष्ट्रसचिव लम्सालले भने प्रस्ताव तयार पार्न आनाकानी गरिरहनुभएको बुझिएको छ ।

यसैगरी प्रधानमन्त्रीलाई जाँदाजाँदा मुख्य सचिवसमेत नियुक्त गरेर जानुपर्छ भन्ने सल्लाह र दबाब पुर्वमुख्यसचिव लिलामणि पौडेलले नै दिनुभएको स्रोतले जानकारी दिएको छ । माओवादी निकट मानिने पूर्वमुख्य सचिव पौडेलले तोयानारायण ज्ञवालीलाई मुख्यसचिव बनाउन प्रधानमन्त्रीलाई दबाब दिइरहनुभएको बुझिएको छ । मन्त्रिपरिषद्ले नयाँ मुख्य सचिवको निर्णय गरेमा पौडेलको सिफारिसमा ज्ञवालीलाई नै गरिने स्रोतको दाबी छ ।

यद्यपि यो निर्णय पनि प्रमाणित नहुने भएकाले निष्क्रिय हुने बताइएको छ । यसैगरी, अन्य केही मन्त्रालयबाट विभिन्न प्रस्ताव ल्याउने तयारी गरिएको छ । त्यस्ता प्रस्तावमा अधिकांश राजनीतिक नियुक्ति र कर्मचारी सरुवा व्यवस्थापन बढिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

२०८१ असार २८, शुक्रबार १०:०१ प्रकाशित
ट्रेन्डिङ समाचार