‘वहुआयामिक सुरक्षा व्यवस्थापनमा आवश्यक सुधार गर्न नयाँ र डिजिटल टेक्नोलोजीहरू प्रयोग गर्नुपर्छ ’


 

अमेरिकाको न्यूयोर्कमा भएको यूएन चिफ पुलिस समिटमा गृहसचिवको सम्वोधन

–सुरक्षा व्यवस्थापनमा सुधार गर्न नयाँ र डिजिटल टेक्नोलोजीहरू प्रयोग गर्नुपर्छ
– हामी सबैले विकासको दिगोपनामा ध्यान केन्द्रित गर्नुपर्छ
– शान्ति संस्कृतिको विकास गर्नुपर्नेमा जोड
– नेपाल सँग शान्ति निर्माणका नवप्रर्वधानात्मक अनुभवहरु रहेको स्पष्ट
काठमाडौं
अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालमा सम्पन्न भएको चौथो युनाइटेड नेशन चिफ अफ पुलिस समिट कार्यक्रममा गृहसचिव एकनारायण अर्याल नेतृत्वको नेपाली सुरक्षा अधिकारीहरुको सशसक्त सहभागिता भएको छ । असार १२ र १३ गते गरी दुई सम्म चलेको सो समिटमा गृहसचिव अर्यालको नेतृत्वमा रहेको नेपाली टिममा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँबर र शसस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल लगायतको सहभागिता रहेको थियो ।
सो समिटमा महत्वपूर्ण सम्वोधन गर्दैै गृहसचिव अर्यालले बदलिंदो चुनौतीपूर्ण वातावरणमा वहुआयामिक सुरक्षा व्यवस्थापनमा आवश्यक सुधार गर्न नयाँ र डिजिटल टेक्नोलोजीहरू प्रयोग गर्नुपर्ने आवश्यकता औल्याउनुभएको छ ।
समिटमा नेपाली टोलीको नेतृत्व गर्दै गृहसचिव अर्यालले हामी सबै मिलेर विश्वमा गरिबी, अल्पविकास, असमानता, स्रोतको अभाव र जलवायु परिवर्तनका असरलगायत द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्नैपर्ने आवश्यकता औल्याए । ‘ त्यसैले दिगो विकास र जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन हासिल गर्नु हाम्रो रणनीतिको मूल आधार हुनुपर्छ ।’गृहसचिव अर्यालले सम्वोधनका क्रममा भने । गृहसचिव अर्यालले हामी सबैले विकासको दिगोपनामा ध्यान केन्द्रित गर्नुपर्ने बताउदै पूर्वाधारको पुनर्निर्माण, आर्थिक विकासलाई बढावा दिनुपर्ने तथा शिक्षा र मेलमिलापका प्रयासहरूको माध्यमबाट शान्ति संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए ।
विश्वमा शान्ति कायम गर्नुपर्ने विषयलाई विशेष जोड दिदै गृहसचिव अर्यालले शान्ति कायम गर्न महिला, युवा र सामुदायिक पक्षलगायत स्थानीय सरोकारवालाको सशक्तीकरणमा जोड दिनुपर्ने बताउदै भने –‘ यी वर्ग नै शान्ति प्रक्रियाका आर्किटेक्ट र एजेन्टहरू हुन् , उनीहरुमा परिस्थितिको वास्तविक चेत रहेको हुन्छ।’

अर्यालले संगठित अपराध, फरेन्सिक, अपराध विश्लेषण, समुदायउन्मुख प्रहरी, यौनिक तथा लैङ्गिक हिंसाजस्ता समस्याको निराकरणका क्षेत्रमा आवश्यक विशेषज्ञता हासिल गर्न विशेष तालिम महत्वपूर्ण हुने स्पष्ट पारे ।
नेपाल यूयन पुलिसको पुर्ण समर्थनमा रहेको स्पष्ट पार्दै यूएन पुलिसको सदस्यका रुपमा नेपाल लामो समय देखि रहेकाले नेपालले विश्व शान्ति र सुरक्षा कायम गर्न आवश्यक योगदान गरिरहेको बताए । गृहसचिव अर्यालले नेपालले आगामी दिनमा निरन्तर रुपमा यूएनको शान्ति कायमको लागि तथा द्धन्द्धग्रस्त क्षेत्रका नागरिकको सुरक्षा र कानुनी शासन स्थापनाका लागि दक्ष र व्यवसायिक प्रहरीहरु उपलब्ध गराइरहने प्रतिवद्धता जनाए ।
सो समिटमा बोल्दै गृहसचिव अर्यालले नेपाललले विगतका ठुला द्धन्द्धलाई कुशलताका साथ समाधान गरेकाले नेपाल सँग शान्ति कायम गर्ने , शान्ति निर्माणका नवप्रर्वधानात्मक अनुभवहरु रहेको स्पष्ट पार्दै विभिन्न जटिल समस्यालाई समाधान गर्न समेत नेपाल सक्षम रहेको स्पष्ट पारे ।

 

२०८१ असार १४, शुक्रबार १८:४५ प्रकाशित
ट्रेन्डिङ समाचार