
सम्पति शुद्धीकरण अनुसन्धान विभागले कर छली र विभिन्न अपराधिक क्रियाकलपापबाट कमाएको सम्पतिलाई शुद्धीकरण गराउन खोजेको भन्दै एक व्यक्ति उपर ८ करोड ४७ लाख ६२ हजार को मुद्दा दायर गरेको छ । विभागले खोटाङका मनजीत राईका नाती हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेल बस्ने ५३ वर्षका चन्द्रबहादुर राई भनिने चन्द्रदीप राई विरुद्ध जिल्ला अदालत काठमाडौंमा सम्पति शुद्धीकरण मुद्दा दायर गरेको हो ।
सम्पति शुद्धीकरण अनुसन्धान विभागले विभागमा परेका उजुरहरु उपर छानबीन प्रक्रियालाई तीव्रता दिदै आएको छ । सो अनुसार राई विरुद्ध बुधबार मुद्दा दायर गरिएको हो । राईले विभिन्न कसुर गरि अकूत सम्पति आर्जन गरेको र त्यसलाई शुद्धीकरण गरेकाले छानबीनको माग गर्दै परेको उजुरीमा विभागले विस्तृत छानबीन गर्देै आइरहेको थियो । छानबीनका क्रममा राईले अपराधिक कार्यबाट रकम आर्जन गरेको तथा गैरकानूनी स्रोतको रुपान्तरण , हस्तान्तरण गर्ने त्यस्तो श्रोत लुकाउने एवं छल्ने उद्धेश्यले ७ करोड ५४ लाख ६५ हजार र साथै कसूरबाट प्राप्त सम्पतिले बढे बढाएको ९२ लाख ९७ हजार समेत गरी ८ करोड ४७ लाख ६२ हजार रुपैया सम्पति शुद्धीकरण गरेको पुष्टि भएको विभागले जनाएको छ । अत विभागले राईमाथि ८ करोड ४७ लाख ६२ हजारको विगो कायम गर्दै सम्पति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३० को उपदफा १ अनुसार मुद्दा दायर गरिएको हो ।
साथै विभागले नीज राईको नाममा रहेको शुद्धीकरण गरिएको तथा स्रोत नखुलको सम्पति तथा साधन तत्काल प्रचलित सम्पति शुद्धीकरण ऐन २०६४ अनुसार जफत गर्न समेत माग गरेको छ । विभागमा परेका सम्पति शुद्धीकरण विरुद्धका झण्डै चार हजार उजुरी मध्ये १६ सय बढि उजुरीको छानबीन भइरहेको छ । नेपालमा अपराधिक क्रियाकलाप बाट अवैध सम्पति आर्जन गरि शुद्धीकरण गराउने प्रवृत्तिमा कमी आएको छैन् । अत सम्पति शुद्धीकरण अनुसन्धान विभागले अपराधिक कार्य गरी अवैध सम्पति आर्जन गर्ने र शुद्धीकरण गर्ने उपर शसक्त छानबीन र कारवाही थालेको हो । विभागको यस्तो प्रयास सँगै सम्पति शुद्धीकरण गराउनेहरुका मनोबल घट्न पुगेको बताइएको छ । विभागले आफ्नो सक्रियता अझै बढाएर मुलुकमा सुशासन कायम गराउन महत्वपुर्ण भुमिका खेल्नुपर्ने आवश्यकता बढेको जनाइएको छ ।