विदेशीलाई देखाउने ‘स्वदेशको मुहार’ अध्यागमनमा ह्ुदैछ सुधार,१ असार देखि सबै कर्मचारीलाई एकै पोशाक


विदेशीलाई देखाउने स्वदेशको मुहारको रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन डेस्कलाई पूर्ण रुपमा प्रविधिमैत्री(डिजिटलाइज्ड ) बनाउने कार्य थालिएको छ । अध्यागमन विभागले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन डेस्क लगायत देशभरमा रहेका सबै अध्यागमन कार्यालयलाई पुर्ण रुपमा अटोमेशनमा लैजाने गरि कार्य थालिएको जनाएको छ ।
अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौलाले स्वदेशको मुहार विदेशीलाई देखाउने मुख्य थलोको रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन डेस्कमा व्यापक सुधार गर्नुपर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखी सुधार थालिएको जानकारी दिनुभयो । महानिर्देशक निरौलाले हाल त्यहा देखिने गरेको इन्टरनेट समस्यालाई दीर्घकालसम्म समाधान गर्न तथा इन्टरनेटलाई द्रु्त बनाउन डार्क फाइबर नेटवर्क जडान गरिएको जानकारी दिनुभयो । महानिर्देशक निरौलाका अनुसार सबै काम अनलाइन बाट चुस्त दुरुस्त रुपमा सम्पन्न गरि सेवाग्राहीलाई समयमा नै सेवा दिने उद्धेश्यले अध्यागमन डेस्कमा तत्काल ४० वटा कम्प्युटर जडान गरिएको र ४० वटा कम्प्युटर थप गर्ने प्रक्रिया थालिएको छ । यसैगरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा इगेट राख्ने तयारी थालिनुका साथै अध्यागमन कार्यालयहरुको संस्थागत र संरचनागत सुदृढीकरण गरी सुरक्षित र गुणस्तरीय सेवा प्रवाह गरिएको महानिर्देशक निरौलाले बताउनुभयो । यद्यपि अध्यागमनमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गरि दक्ष र व्यवसायिक जनशक्ति उत्पादन गर्न भने विभागलाई चुनौती देखिएको बताइएको छ । अहिले पनि अध्यागमनमा खटिएका कर्मचारीहरुबाट सहज र आत्मीय सेवा पाउन नसकेको भन्दै सेवाग्राहीबाट गुनासाहरु आउने क्रम भने घटेको छैन् । सेवाग्राहीका अनुसार अध्यागमनमा खटिने कर्मचारीहरुमा व्यवहारगत सुधार अत्यावश्यक रहेको छ ।
अध्यागमन विभागका अनुसार यही १ असार देखि अध्यागमनमा रहेका सबै कर्मचारीलाई एउटै कलर र स्वरुपको पोशाकको व्यवस्था समेत गरिएको छ । यसले गर्दा सेवाग्राहीलाई अध्यागमनका कर्मचारी पहिचान गर्न सहज हुनेछ ।
अध्यागमन विभागले आफ्नो मुख्य क्षेत्राधिकारको रुपमा रहेका कार्यहरु मध्ये विदेशीहरुको प्रवेश उपस्थिति र प्रस्थानलाई नियमित एवं नियन्त्रण गर्ने कार्यलाई प्रभावकारी बनाइएको जनाएको छ भने नेपाली नागरिकहरुको आगमन र प्रस्थानलाई व्यवस्थित गर्ने तथा अध्यागमन अपराधलाई नियन्त्रण गर्ने जस्ता कार्यहरु गर्दै आइरहेको छ । यसैगरि विभागले सेवा प्रवाहको प्रक्रियागत सरलीकरण तथा प्रविधिमैत्री पुनसंरचना गरी अध्यागमन कानुनहरुको समयसापेक्ष परिमार्जन गर्न आवश्यक समन्वय गर्दै आइरहेको छ भने सम्वद्ध निकायहरुबीच बहुपक्षीय सूचना आदानप्रदान संयन्त्रको स्थापना तथा एकिकृत अभिलेख व्यवस्थापन गर्नुका साथै विदेशी नागरिकहरुको अनुगमन संयन्त्रहरुको नियमित र प्रभावकारी परिचालन गर्दै आइरहेको बताइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा इगेट राख्ने तयारी थालिनुका साथै अध्यागमन कार्यालयहरुको संस्थागत र संरचनागत सुदृढीकरण गरी सुरक्षित र गुणस्तरीय सेवा प्रवाह गर्न थालेका छौं
कोषहरि निरौला
महानिर्देशक, अध्यागमन विभाग

२०८१ जेष्ठ २९, मंगलवार २३:१५ प्रकाशित
ट्रेन्डिङ समाचार