सिन्धुलीबाट बेपत्ता हायू परिवार पोखरामा भेटिए


पोखरा । सिन्धुलीबाट केही दिनदेखि सम्पर्कविहीन भएका हायू परिवारका १६ सदस्य पोखराको गगनगौंडामा भेटिएका छन् । उनीहरूलाई पोखराको माथिल्लो गौँडगौडा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्कीका प्रहरी प्रमुख (एसपी) श्यामबाबु ओलियाका अनुसार, नियन्त्रणमा लिइएका सबै १६ जनाले आफूहरू मजदुरी काम पोखरा आएको बताएका छन् । उनीहरू गौँडगौडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा फेला परेका ओलियाले जानकारी दिएका छन् ।

‘हामी लेबर (मजदुरी) काम गर्ने हो, यतातिर काम गर्छौँ भनेर काम खोज्न आएको भन्दै छिरेका रहेछन्,’ उनले सुनाए, ‘सबै जनालाई अहिले इलाका प्रहरी कार्यालयमा ल्याउने काम भइरहेको छ ।

उनीहरू पोखरामा बस्ने योजनासहित नै आएको देखिएको प्रहरीको सोधपुछका क्रममा खुलेको छ । उनीहरूले सिन्धुलीबाट गाडी रिजर्भ गरेर पोखरा आएको पाइएको छ । पोखरा आएपछि एक दिन होटलमा बसेका उनीहरू हिजो (एक दिनअघि) मात्र होटलबाट चेकआउट गरी स्थानीयको घरमा बस्न गएका थिए ।

‘उनीहरू १४–१५ दिन बस्ने योजनाले आएको भन्ने बुझिएको छ । सिन्धुलीबाट गाडी नै रिजर्भ गरेर आएका रहेछन्,’ ओलियाले भने । होटलबाट निस्किएको भोलिपल्टै उनीहरूलाई प्रहरीले फेला पारेको हो ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट हायू परिवार गत शुक्रबारदेखि बेपत्ता भएको थियो । गाउँपालिकाले १६ जना बेपत्ता भएको जानकारी दिएको थियो । तर प्रहरीको अनुसन्धानका क्रममा सुजाता हायू भने श्रीमान्सँग काठमाडौँमा बस्ने गरेको खुलेको थियो ।

२०८२ श्रावण १३, मंगलवार ०७:१४ प्रकाशित
ट्रेन्डिङ समाचार