कञ्चनपुर । आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारत पु-याएर बन्धक बनाइएका ५८ नेपाली युवाको बुधबार उद्धार गरी ल्याइएको छ । भारतको उत्तराखण्ड राज्य उधमसिंह नगर जिल्लाको रुद्रपुरमा ३२ जना र कासिपुरमा ३५ जना गरी ५८ जना बन्ध बनाइएका युवाहरुको उद्धार गरी ल्याइएको हो ।
नागरिक संस्था किन नेपाल/किन इण्डिया, भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा युवाको उद्धार गरी पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।
रुद्रपुर र कासिपुरमा रोजगारी दिने भनेर लगिएका युवालाई घर घरमा राखेर बन्धक बनाइएको थाहा पाएपछि भारतस्थित नेपाली दूतावासको सहयोगमा विभिन्न सङ्घ संस्था र प्रहरीले उद्धार गरेको उनले बताए ।
उद्धार गरेका युवालाई बसमार्फत सीमा नाका गड्डाचौकी पु-याइएको थियो । रोजगारी दिने भनेर लग्ने व्यक्तिको खोजी कार्यसँगै आवश्यक अनुसन्धानको कार्य भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।
सीमा नाकामा उद्धार गरेर ल्याइएका युवालाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डिआइजी) डम्बरबहादुर विश्वकर्माले स्वागत गरेका थिए ।


