काठमाडौं । काठमाडौंलाई रातको समयमा समेत चलायमान बनाउँदै २४ सै घण्टा खुला रहने सहरका रूपमा विकास गर्ने तयारी भइरहँदा जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा विशेष निगरानी र कारबाही अभियान सुरु गरेको छ।
पर्यटकलाई हैरानी दिने, विभिन्न बहानामा ठगी गर्ने, अवैध गतिविधि सञ्चालन गर्ने, यौनजन्य विकृति बढाउने तथा गैरखाद्य वस्तुको गैरकानुनी बिक्रीवितरण गर्नेजस्ता गतिविधि नियन्त्रण गर्न काठमाडौं प्रशासनले ठमेलमा विशेष टोली परिचालन गरेको हो।रातभरि खुला रहने सहरको अवधारणा कार्यान्वयन गर्नुअघि नै काठमाडौंलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यसहित प्रशासनले ठमेलबाट सुधार अभियान अघि बढाएको देखिन्छ।
नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित ठमेलमा पछिल्लो समय पर्यटकलाई लक्षित गरी ठगी गर्ने, अनावश्यक दुःख दिने, अवाञ्छित गतिविधि सञ्चालन गर्ने तथा सार्वजनिक मर्यादाविपरीतका क्रियाकलाप बढ्दै गएको गुनासो प्रशासनसम्म पुग्दै आएको थियो। यस्ता गतिविधिले ठमेलको पर्यटन छविमै असर पार्न सक्ने देखिएपछि प्रशासनले विभिन्न निकायलाई एकीकृत गरी निगरानी र कारबाहीलाई तीव्रता दिएको हो।
सहायक प्रजिअकै नेतृत्वमा विशेष टोली, प्रहरीदेखि नगर प्रहरीसम्म परिचालन
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा विभिन्न सरकारी तथा सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित विशेष टोली बनाएर ठमेलमा खटाइएको छ।
टोलीमा नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी, स्थानीय तह, ठमेल पर्यटन विकास परिषद्, राष्ट्रिय अनुसन्धान कार्यालयलगायतका निकायका प्रतिनिधि सहभागी छन्।
संयुक्त टोलीले ठमेल क्षेत्रका गतिविधिको निगरानी गर्ने, गैरकानुनी क्रियाकलापमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिने, आवश्यक कारबाही गर्ने तथा नियम उल्लंघन गर्नेहरूलाई जरिवानासमेत गराउँदै आएको छ।
प्रशासनले विशेषगरी पर्यटकलाई ठगी गर्ने, जबर्जस्ती सेवा लिन बाध्य पार्ने, अवैध कारोबार गर्ने तथा सार्वजनिक शान्ति र सुरक्षामा असर पुर्याउने गतिविधिलाई प्राथमिकतामा राखेर निगरानी गरिरहेको छ।
यस अभियानको उद्देश्य केवल केही व्यक्तिलाई नियन्त्रणमा लिनु वा जरिवाना गर्नु मात्र नभई ठमेलको समग्र वातावरण सुधार गर्नु रहेको प्रशासनको भनाइ छ।
२४ घण्टे काठमाडौंको तयारी, ठमेलबाट सुधार अभियान
काठमाडौंलाई रातको समयमा पनि खुला राख्ने र आर्थिक, व्यावसायिक तथा पर्यटकीय गतिविधिलाई थप विस्तार गर्ने योजनासहित जिल्ला प्रशासन कार्यालयले आवश्यक रणनीति तयार गरिरहेको छ।
रात्रीकालीन अर्थतन्त्र लाई प्रोत्साहन गर्ने यस्तो योजनाका लागि सुरक्षा, सार्वजनिक अनुशासन र सेवा व्यवस्थापनलाई पनि सँगसँगै अघि बढाउनुपर्ने प्रशासनको निष्कर्ष छ।
ठमेल यसअघि पनि रातको समयमा सक्रिय रहने क्षेत्र हो। तर, काठमाडौंका अन्य क्षेत्रसमेत रातभरि खुला राख्ने योजना कार्यान्वयनमा आएपछि सुरक्षा चुनौती, अवैध गतिविधि, पर्यटकमाथि हुने ठगी, सार्वजनिक मर्यादा र शान्ति सुरक्षाका विषय अझ संवेदनशील बन्न सक्नेछन्।
त्यसैले २४ घण्टे सहरको अवधारणा कार्यान्वयन गर्नुअघि ठमेललाई व्यवस्थित बनाउने र त्यहाँ प्रभावकारी निगरानी प्रणाली स्थापित गर्ने कामलाई प्रशासनले प्राथमिकता दिएको हो।
प्रशासनले रात्रीकालीन व्यवसाय सञ्चालन हुने क्षेत्रका लागि आवश्यक आचारसंहिता लागू गर्ने, सुरक्षा संयन्त्रलाई सक्रिय बनाउने तथा अवाञ्छित गतिविधिमाथि तत्काल नियन्त्रण गर्न सक्ने व्यवस्था मिलाउने तयारीसमेत गरिरहेको छ।

‘रातभरि काठमाडौं खुल्छ, तर विकृति र अराजकता चल्दैन’
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले काठमाडौंलाई २४ सै घण्टा खुला राख्ने योजनाको पूर्वतयारीस्वरूप ठमेलमा देखिएका विकृति हटाउने र व्यवस्थापन सुधार्ने काम अघि बढाइएको बताए।
उनका अनुसार काठमाडौंलाई रातको समयमा पनि खुला र चलायमान बनाउन त्यसअनुसारको सुरक्षा रणनीति, प्रभावकारी निगरानी र अनुशासनको व्यवस्था अनिवार्य हुन्छ।
‘काठमाडौंलाई २४ सै घण्टा खुला राख्ने योजना बनाइरहेका छौं। त्यसका लागि सहर सुरक्षित, व्यवस्थित र मर्यादित हुनुपर्छ। कुनै पनि व्यक्ति वा समूहले पर्यटक वा सर्वसाधारणलाई ठगी गर्न नपाओस्, अवाञ्छित गतिविधि सञ्चालन गर्न नपाओस् भन्ने उद्देश्यले आवश्यक तयारी गरिरहेका छौं,’ प्रजिअ पौडेलले प्रशासनपोष्टसँग भने।
उनले ठमेलमा देखिएका विकृति हटाउने र प्रभावकारी आचारसंहिता लागू गर्ने कामलाई यही बृहत् योजनाको एउटा महत्त्वपूर्ण हिस्साका रूपमा व्याख्या गरे।
पर्यटनको आकर्षण जोगाउन प्रशासनको सक्रियता
ठमेल काठमाडौंको पर्यटन, मनोरञ्जन, होटल, रेस्टुरेन्ट तथा रात्रिकालीन व्यवसायको प्रमुख केन्द्र हो। यहाँ हुने गतिविधिले नेपालको पर्यटन छविमा समेत प्रत्यक्ष प्रभाव पार्छ।
पर्यटकले निर्धक्क घुम्न, सेवा लिन र सुरक्षित रूपमा बस्न सक्ने वातावरण निर्माण गर्नु प्रशासनका लागि महत्त्वपूर्ण चुनौती हो।
२४ घण्टे काठमाडौंको अवधारणा सफल बनाउन रातभरि पसल, रेस्टुरेन्ट र मनोरञ्जनका क्षेत्र खुला राख्ने व्यवस्था मात्रै पर्याप्त हुँदैन। त्यससँगै प्रभावकारी सुरक्षा, नियमित अनुगमन, उपभोक्ता अधिकारको संरक्षण, व्यवसायीको जवाफदेहिता र सार्वजनिक अनुशासन पनि सुनिश्चित हुनुपर्छ।
प्रशासनले ठमेलबाट सुरु गरेको अभियानलाई निरन्तरता दिँदै काठमाडौंका अन्य क्षेत्रमा समेत व्यवस्थित रूपमा विस्तार गर्न सके रात्रीकालीन पर्यटन र अर्थतन्त्रलाई प्रोत्साहन गर्ने सरकारको योजनाले सार्थकता पाउन सक्छ।
तर, अभियान केही दिनको प्रदर्शनमा सीमित नभई नियमित अनुगमन, निष्पक्ष कारबाही र प्रभावकारी आचारसंहितासहित संस्थागत बन्नु आवश्यक छ। काठमाडौं रातभरि खुला हुने सहर बन्ने हो भने त्यो पर्यटक र व्यवसायीका लागि अवसरको सहर मात्र होइन, सर्वसाधारणका लागि सुरक्षित र अनुशासित सहर पनि बन्नुपर्छ।




प्रतिक्रिया