ADVERTISEMENT

अध्यागमनभित्र संस्थागत सुधारको पहल : जनशक्ति व्यवस्थापनदेखि प्रविधिमैत्री सेवासम्म

जनशक्तिको कार्यसम्पादन मापन, कर्मचारीको इन्टिग्रिटी परीक्षण, कार्यालय संरचनाको पुनर्संरचना र सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई प्राथमिकता

काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थलदेखि अध्यागमनका विभिन्न सेवा केन्द्रसम्म लामो समयदेखि जरा गाडेर बसेका विकृति, बिचौलियाको प्रभाव र अनौपचारिक सेटिङको सञ्जाल नियन्त्रण गर्ने प्रयाससँगै अध्यागमन विभागले संस्थागत तथा संरचनागत सुधारलाई पनि तीव्रता दिएको छ।

अध्यागमन प्रशासनलाई पारदर्शी, जवाफदेही, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउने उद्देश्यसहित विभागले जनशक्ति व्यवस्थापन, कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन, आन्तरिक निगरानी, कार्यालयको पुनर्संरचना र प्रविधिमा आधारित सेवा प्रवाहलाई प्राथमिकतामा राखेको हो।

विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार अध्यागमन क्षेत्रमा देखिएका विकृति र विसंगति नियन्त्रण गर्न कर्मचारीको प्रभावकारी परिचालनसँगै संस्थागत प्रणालीलाई नै सुधार गर्ने काम अघि बढाइएको छ। व्यक्तिगत निर्देशन र नेतृत्वको सक्रियतामा मात्र सीमित नरही संस्थागत पद्धतिमार्फत सुधारलाई दिगो बनाउने प्रयास भइरहेको उनको भनाइ छ।

विभागले अघि सारेका सुधारका कामलाई मुख्यतः पाँच क्षेत्रमा विभाजन गर्न सकिन्छ।

१. कर्मचारीको कार्यसम्पादन मापन र नियमित इन्टिग्रिटी परीक्षण

विभागले आफू मातहतका कार्यालयहरूको आन्तरिक नियन्त्रण प्रणाली तयार गरेको छ। कर्मचारीको कार्यविवरण (Job Description) निर्धारण गरी त्यसकै आधारमा कार्यसम्पादन सूचकसमेत तयार गरिएको छ।

यसले कुन कर्मचारीको जिम्मेवारी के हो, उसले के काम गर्नुपर्ने हो र उसको कामको मूल्याङ्कन कसरी गर्ने भन्ने विषयलाई व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरी विभागमा इन्टिग्रिटी मोनिटरिङ टिम गठन गरी कर्मचारीको इमानदारी, कार्यशैली र आचरणको नियमित मूल्याङ्कन गर्ने व्यवस्था अघि बढाइएको छ। यसका लागि आवश्यक मापदण्डसमेत बनाइएको विभागले जनाएको छ।

अध्यागमनजस्तो संवेदनशील क्षेत्रमा कर्मचारीको आचरण र कार्यशैलीलाई संस्थागत निगरानीमा राख्ने यो प्रयासलाई आन्तरिक सुशासन सुदृढीकरणको महत्त्वपूर्ण पक्षका रूपमा हेरिएको छ।

२. फ्रन्ट डेस्कका कर्मचारीलाई विशेष तालिम

सेवाग्राही र विदेशी नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने फ्रन्ट डेस्कका कर्मचारीको क्षमता अभिवृद्धिलाई पनि विभागले प्राथमिकतामा राखेको छ।

विभागले कूटनीतिक शिष्टाचार (Diplomatic Etiquette), जालसाजी तथा ठगीजन्य गतिविधि पहिचान र व्यवस्थापन (Fraudulence Handling) तथा अध्यागमन प्रक्रिया (Immigration Procedures) सम्बन्धी तालिमका विषयवस्तु पहिचान गरी तालिम सञ्चालन गर्दै आएको जनाएको छ।

अध्यागमन सेवामा कर्मचारीको व्यवहार, निर्णय क्षमता, प्रक्रियागत ज्ञान र शिष्टाचारले राज्यको अन्तर्राष्ट्रिय छविसमेत निर्धारण गर्ने भएकाले फ्रन्ट डेस्कमा कार्यरत जनशक्तिलाई दक्ष बनाउने प्रयास गरिएको विभागको भनाइ छ।

३. कार्यालयको संरचना पुनर्संरचना र निर्णय प्रक्रिया सरलीकरण

विभागले कार्यालयको संरचना र कार्यप्रणालीलाई व्यवस्थित बनाउन पनि काम अघि बढाएको छ।

रुपन्देही र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन कार्यालय तथा सोही जिल्लामा रहेका अध्यागमन सेवा कार्यालयलाई एकीकृत गर्ने उद्देश्यले संक्षिप्त संगठन तथा व्यवस्थापन (O&M) सम्बन्धी प्रक्रिया अगाडि बढाइएको छ।

यसबाट कार्यालयबीचको कार्यक्षेत्र दोहोरोपन घटाउने, जनशक्तिको प्रभावकारी परिचालन गर्ने र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

त्यसैगरी विभाग र मातहतका कार्यालयबाट सम्पादन हुने कामको बिजनेस प्रोसेस रिइन्जिनियरिङ (Business Process Re-engineering) गरी कार्यप्रक्रिया सरलीकरण गरिएको छ। निर्णयका तह घटाइएको तथा विभिन्न निकायसँग कागजात आदानप्रदान गर्ने प्रणालीलाई अन्तरआबद्ध बनाइएको विभागले जनाएको छ।

विभागमा अनुसन्धान तथा विकास (Research and Development) शाखा स्थापना गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।

४. सुरक्षा निकायसँग समन्वय र सूचना आदानप्रदान प्रणाली सुदृढ

अध्यागमन व्यवस्थापन केवल विभागको आन्तरिक काममा सीमित हुँदैन। यसमा सुरक्षा निकाय, विमानस्थल व्यवस्थापन तथा अन्य सरोकारवाला संस्थाको भूमिका पनि महत्त्वपूर्ण हुन्छ।

यही पक्षलाई ध्यानमा राख्दै विभागले विभिन्न सुरक्षा निकाय तथा सरोकारवाला संस्थासँगको समन्वय र सूचना आदानप्रदान प्रणालीलाई सुदृढ बनाउने काम अघि बढाएको छ।

यसबाट शंकास्पद गतिविधि पहिचान, सूचनाको समयमै आदानप्रदान, जोखिम व्यवस्थापन र अध्यागमन प्रक्रियामा देखिन सक्ने अनियमितता नियन्त्रणमा सहयोग पुग्ने विभागको अपेक्षा छ।

५. ई–भिसादेखि पर्यटक सेवा विस्तारसम्म नीतिगत सुधार

सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत विभागले गत भदौ १ गतेदेखि नेपालको पर्यटक प्रवेश भिसा तथा त्यसको अद्यावधिक गर्ने प्रक्रियालाई पूर्ण रूपमा ई–भिसा प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले नीतिगत, प्राविधिक र व्यवस्थापकीय काम अघि बढाएको जनाएको छ।

त्यसैगरी सार्वजनिक बिदाका दिनमा समेत पर्यटक भिसा र ट्रेकिङ परमिटसम्बन्धी सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

पदयात्रासम्बन्धी व्यवस्थामा पनि नीतिगत परिवर्तन गरिएको छ। अब एक जना पर्यटकले पनि पदयात्रामा जान सक्ने व्यवस्था गरिएको छ भने एउटा समूहमा बढीमा पाँच जना पर्यटक बराबर एक जना गाइड अनिवार्य गरिएको छ।

यसैबीच मध्यपूर्वमा जारी द्वन्द्व तथा अन्य सुरक्षा जोखिमलाई मध्यनजर गर्दै इरानी नागरिकलाई भिसा अन अराइभलमा रोक लगाउने निर्णयसमेत गरिएको विभागले जनाएको छ।

सुधारको निरन्तरता र संस्थागत कार्यान्वयन मुख्य चुनौती

अध्यागमन विभागले अघि सारेका यी कामले कर्मचारीको जवाफदेहिता, संस्थागत नियन्त्रण, सेवा प्रवाहको सरलीकरण र प्रविधिको प्रयोगलाई एउटै सुधार अभियानमा जोड्ने प्रयास गरेको देखिन्छ।

तर सुधारका योजना र निर्णयले वास्तविक परिणाम दिन तिनको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन र संस्थागत निरन्तरता आवश्यक हुन्छ। विशेषगरी विमानस्थलमा बिचौलियाको प्रभाव, कर्मचारीको मिलेमतो, अनौपचारिक लेनदेन र सेवाग्राहीले भोग्नुपर्ने झन्झट अन्त्य भए/नभएको विषयमा परिणाममुखी मूल्याङ्कन हुनुपर्ने देखिन्छ।

अध्यागमन प्रशासनमा सुधारको वास्तविक सफलता नयाँ निर्देशिका, तालिम र संरचना निर्माणमा मात्र होइन, सेवाग्राहीले पाउने सेवाको गुणस्तर, कर्मचारीको व्यवहार र अनियमिततामा आएको कमीबाट मापन हुनेछ।

विभागले थालेको सुधार अभियानलाई संस्थागत प्रणालीमा रूपान्तरण गर्न सके अध्यागमन प्रशासनलाई पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउने दिशामा महत्त्वपूर्ण आधार तयार हुन सक्छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार