ADVERTISEMENT

वैदेशिक रोजगार ठगीका १ हजारभन्दा बढी फरार आरोपितको खाता रोक्का गर्ने तयारी

काठमाडौं । वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएर लामो समयदेखि फरार रहेका आरोपितको बैंक खाता तथा सम्पत्ति रोक्का गरिने भएको छ ।

वैदेशिक रोजगार विभागले पहिलो चरणमा १ हजारभन्दा बढी फरार आरोपितको सूची सार्वजनिक गरी उनीहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाउन लागेको हो ।

विभागले यसअघि ३५ दिनभित्र विभाग वा प्रहरीको सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो । तोकिएको समयभित्र सम्पर्कमा नआउने आरोपितको बैंकिङ कारोबार र यात्रा अनुमति प्रक्रियासमेत रोक्का गरिने विभागले जनाएको छ ।

विभागका अनुसार फरार आरोपितको सूची तयार भएपछि नेपाल राष्ट्र बैंकमार्फत बैंक खाता रोक्का गरिनेछ । वैदेशिक रोजगार ऐनअनुसार बैंक खातासँगै सम्बन्धित व्यक्तिको सम्पत्तिसमेत रोक्का गर्न सकिने व्यवस्था छ ।

यद्यपि, पुराना मुद्दाको अभिलेख व्यवस्थित नहुनु र जेनजी आन्दोलनका क्रममा विभागमा आगलागी हुँदा महत्त्वपूर्ण कागजात नष्ट हुनुले विवरण संकलनमा चुनौती थपिएको छ ।

विभागले हालसम्म ४ देखि ५ हजार मुद्दाको विवरण अद्यावधिक गरिसकेको जनाएको छ । वैदेशिक रोजगारसम्बन्धी ३० हजारभन्दा बढी मुद्दा विचाराधीन रहेको विभागको अनुमान छ ।

फरार आरोपित आफैं विभाग वा प्रहरीको सम्पर्कमा आएर बयानलगायत प्रक्रिया पूरा गरे सोही दिन तारेखमा छुट्न सक्ने व्यवस्था पनि विभागले गरेको छ । विभागले यस कदमबाट पीडितको रकम असुली र न्याय प्रक्रियालाई छिटो अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार