काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्ने क्रम जारी रहे पनि निजी क्षेत्रमा कर्जा विस्तार अपेक्षाअनुसार हुन सकेको छैन। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप २ खर्ब ३२ अर्ब ८९ करोड रुपैयाँले बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ८४ अर्ब १९ करोड रुपैयाँले मात्रै बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप २.८ प्रतिशतले बढेर ८५ खर्ब ९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा भने १.८४ प्रतिशतले बढेर ६० खर्ब ४१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ।
वार्षिक विन्दुगत आधारमा निक्षेप १३.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ८.३ प्रतिशतले बढेको छ। निक्षेपको वृद्धिदर कर्जाको तुलनामा बढी हुँदा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहे पनि कर्जाको माग कमजोर देखिएको छ।
निक्षेपको संरचनामा समेत परिवर्तन आएको छ। कुल निक्षेपमा बचत निक्षेपको हिस्सा ४९.३ प्रतिशत पुगेको छ भने मुद्दती निक्षेपको हिस्सा घटेर ३४ प्रतिशतमा सीमित भएको छ। अघिल्लो वर्ष बचत निक्षेपको हिस्सा ३८.७ प्रतिशत र मुद्दतीको ४६.४ प्रतिशत थियो।
त्यस्तै, कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा पनि घटेको छ। २०८२ असोजमा ३५.३ प्रतिशत रहेको संस्थागत निक्षेपको हिस्सा २०८३ असोजमा ३२.५ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ।
निक्षेपको तुलनामा कर्जा विस्तार सुस्त हुँदा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिने अवस्था बनेको छ। यसले बैंकहरूलाई कर्जा प्रवाह बढाउन ब्याजदर घटाउनुपर्ने दबाब सिर्जना गरेको छ। तर ब्याजदर घट्दैमा कर्जाको माग स्वतः बढ्ने अवस्था भने देखिएको छैन।





प्रतिक्रिया