ADVERTISEMENT

नेपालमा डिजिटल रुपैयाँ ल्याउने तयारी, पाँच वर्षमा ४ अर्ब ७३ करोड बचत हुने अनुमान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपालमा केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी) अर्थात् डिजिटल रुपैयाँ सञ्चालनका लागि प्रारम्भिक मोडल प्रस्ताव गरेको छ। राष्ट्र बैंकको अध्ययनले बैंक तथा वित्तीय संस्थामार्फत सर्वसाधारणलाई डिजिटल रुपैयाँ उपलब्ध गराउने सुझाव दिएको छ।

प्रस्तावित डिजिटल रुपैयाँ चौबीसै घण्टा प्रयोग गर्न सकिने, ब्याज नदिइने तथा कारोबार र धारणको सीमा तोकिने व्यवस्था हुनेछ। साथै सरकारी अनुदान तथा सहायता रकम निश्चित प्रयोजनमा मात्र खर्च गर्न मिल्ने गरी प्रोग्रामेबल बनाउन सकिने विकल्पसमेत अघि सारिएको छ।

अध्ययनअनुसार डिजिटल रुपैयाँको प्रयोग बढेमा आगामी पाँच वर्षमा नोट छपाइको आवश्यकता करिब ५० प्रतिशत घट्न सक्ने र करिब ४ अर्ब ७३ करोड रुपैयाँ बचत हुन सक्ने अनुमान गरिएको छ।

यद्यपि, डिजिटल मुद्राका कारण बैंकको निक्षेप घट्ने, साइबर आक्रमण, व्यक्तिगत विवरणको सुरक्षा तथा डिजिटल पहुँच नभएका नागरिक वित्तीय सेवाबाट वञ्चित हुन सक्ने जोखिम पनि औंल्याइएको छ।

राष्ट्र बैंकले तत्काल डिजिटल रुपैयाँ जारी गर्नुभन्दा पहिले नमुना प्रणाली विकास गरी परीक्षण गर्नुपर्ने सुझाव दिएको छ। डिजिटल रुपैयाँ जारी गर्न नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधनसहित आवश्यक कानुनी तथा प्राविधिक तयारी गर्नुपर्ने अध्ययनको निष्कर्ष छ।

हाल डिजिटल रुपैयाँसम्बन्धी प्रस्ताव प्रारम्भिक अध्ययन र नीतिगत तयारीकै चरणमा रहेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार