काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी १३७.९ प्रतिशतले वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि असोजसम्म सेयर पुँजीका रूपमा ४ अर्ब १४ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो लगानी १ अर्ब ७४ करोड रुपैयाँ मात्रै थियो।
यसैगरी, समीक्षा अवधिमा नेपालको शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर बचत २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँ थियो।
राष्ट्र बैंकका अनुसार चालु खाता पनि २ खर्ब ७९ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत २ खर्ब ३८ अर्ब रुपैयाँ थियो।
रेमिट्यान्सलगायतका स्रोतबाट विदेशी मुद्रा भित्रिने क्रम बढ्दा चालु खाता र शोधनान्तर दुवैमा बचत देखिएको हो।
यद्यपि, प्रत्यक्ष वैदेशिक लगानी बढे पनि खुद पुँजीगत ट्रान्सफर भने घटेको छ। समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब ३१ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम ५ अर्ब ५५ करोड रुपैयाँ थियो।
समग्रमा समीक्षा अवधिमा नेपालको बाह्य क्षेत्रको अवस्था सुधारोन्मुख देखिएको छ। शोधनान्तर र चालु खाता बचत बढ्नुका साथै प्रत्यक्ष वैदेशिक लगानीमा समेत उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।




प्रतिक्रिया