ADVERTISEMENT

निर्वाचन निष्पक्ष बनाउन सरकारको मुख्य जिम्मेवारी : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह र प्रदेश तहको निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउने मुख्य जिम्मेवारी सरकारको भएको बताउनुभएको छ ।

निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले निर्वाचनको वातावरण निर्माण गर्न सरकारले नै समयमै पहलकदमी लिनुपर्ने धारणा राख्नुभयो ।

सभापति थापाले सरकारले राजनीतिक दल र प्रतिपक्षसँग संवाद नगरी अघि बढ्न खोजेको भन्दै निर्वाचनका सन्दर्भमा यस्तो कार्यशैली स्वीकार्य नहुने बताउनुभयो । उहाँले निर्वाचन आयोगले मात्र सबै जिम्मेवारी लिनुभन्दा सरकारलाई समयमै आवश्यक ध्यानाकर्षण गराउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले निर्वाचनको मिति र प्रक्रियाबारे संविधान तथा कानुनमा स्पष्ट व्यवस्था रहेको बताउँदै सोहीअनुसार अघि बढ्न सकिने धारणा राख्नुभयो । स्थानीय र प्रदेश तहको निर्वाचन एकै समयमा गर्ने विषयमा आयोगमा छलफल भएको उल्लेख गर्दै त्यसबारे राजनीतिक दलहरूबीच थप बहस र सहमति आवश्यक रहेको पनि बताउनुभयो ।

थापाले विगतमा असामान्य परिस्थितिमा निर्वाचन सम्पन्न गर्न तत्कालीन सरकारले राजनीतिक दलहरूसँग गरेको संवाद र सहजीकरण महत्वपूर्ण रहेको स्मरण गराउँदै आगामी निर्वाचनका लागि पनि सरकार र राजनीतिक दलबीच संवाद आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार