काठमाडौं । लगातार तीन कारोबार दिन घटेको सेयर बजारमा बिहीबार सामान्य सुधार देखिएको छ। यस दिन नेप्से परिसूचक ३.६२ अंकले बढेर २ हजार ६२८.६७ विन्दुमा पुगेको छ।
तर बजार बढे पनि कारोबार रकम भने घटेको छ। बुधबार ४ अर्ब १५ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब ८७ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ।
बिहीबार ३४७ कम्पनीका ९४ लाख ३७ हजार कित्ता सेयर ४० हजार ८३७ पटक किनबेच भएका छन्। कारोबारमा आएका १३ उपसमूहमध्ये पाँचवटा बढ्दा आठवटा घटेका छन्। होटल तथा पर्यटन उपसमूह सर्वाधिक १.२९ प्रतिशतले बढेको छ।
कम्पनीगत रूपमा बोटलर्स नेपाल लिमिटेडको सेयर मूल्य ६ प्रतिशतले बढ्दा एभरेष्ट कलरको मूल्य ५.४५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्ष स्थानमा रह्यो। बैंकको १६ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, पिपुल्स हाइड्रोपावर र सेन्ट्रल फाइनान्स पनि सर्वाधिक कारोबार हुने कम्पनीमा परेका छन्।
तीन दिनको गिरावटपछि बजारमा सामान्य सुधार देखिए पनि कारोबार रकम घट्नु र अधिकांश उपसमूह ओरालो लाग्नुले लगानीकर्ताको खरिद उत्साह अझै कमजोर रहेको संकेत गरेको छ।




प्रतिक्रिया