ADVERTISEMENT

भारतमा ११९८ मेगावाट विद्युत निर्यात गर्न नेपालको अनुमति

काठमाडौं । भारतले नेपाललाई थप ५९४ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मा बिक्री गर्न अनुमति दिएको छ। सेती खोला जलविद्युत आयोजनाको थप २१.३४ मेगावाट विद्युत निर्यातको स्वीकृतिसँगै भारततर्फ निर्यात गर्न अनुमति प्राप्त कुल विद्युत परिमाण १ हजार १९८ मेगावाट पुगेको छ।

भारतको केन्द्रीय विद्युत प्राधिकरणले मंसिर २ गते उक्त विद्युत आईएक्सको डे-अहेड र रियल टाइम बजारमा बिक्री गर्न स्वीकृति दिएको हो। स्वीकृतिअनुसार ५९४ मेगावाट विद्युत १८ नोभेम्बर २०२६ देखि १४ जुन २०२७ सम्म बिक्री गर्न सकिनेछ।

यसअन्तर्गत २०५ मेगावाट विद्युत विभिन्न १३२ केभी प्रसारण लाइनमार्फत र ३८९ मेगावाट ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत निर्यात हुनेछ।

नेपाल विद्युत प्राधिकरणका अनुसार मध्यकालीन विद्युत बिक्री सम्झौताको अवधि सकिएपछि खेर जान सक्ने विद्युतलाई वैकल्पिक बजारका रूपमा आईएक्समा बिक्री गर्न अनुमति मागिएको थियो। एनभीभीएनमार्फत ३८९ मेगावाट र पीटीसीमार्फत २०५ मेगावाट विद्युत बिक्री गर्न स्वीकृति प्राप्त भएको हो।

त्यस्तै, सेती खोला जलविद्युत आयोजनाको २१.३४ मेगावाट विद्युत १८ नोभेम्बर २०२६ देखि ३१ अगस्ट २०२७ सम्म आईएक्समा बिक्री गर्न अनुमति दिइएको छ।

भारतले आगामी हिउँदयाममा नेपाललाई आवश्यकताअनुसार १ हजार ४ मेगावाट विद्युत आयात गर्न पनि अनुमति दिएको छ। वर्षायाममा बढी भएको विद्युत भारतमा निर्यात गर्ने र हिउँदमा उत्पादन घट्दा भारतबाट आयात गर्ने नेपालको विद्युत व्यापार प्रणाली कायम रहेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार