काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि मुछिएका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको उच्च स्रोतले जनाएको छ।
प्रकरणमा अनुसन्धान अघि बढेपछि अर्याल सम्पर्कविहीन भएको र हाल फरार रहेको स्रोतको दाबी छ।
यसै प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय, तत्कालीन सचिव विनोद केसी, महाशाखा प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा कानून अधिकृत निर्मला गुरुङ रहेका छन्।
यसअघि पनि सीआईबीले चार जनालाई पक्राउ गरिसकेको छ। उनीहरूमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार नेपाल र मलेसियाबीचको समझदारीविपरीत गैरकानुनी रूपमा संकलित रकममध्ये करिब १ अर्ब ६९ करोड रुपैयाँ मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता रहेको आरोप छ।
श्रमिकमाथि संगठित रूपमा ठगी हुँदा पनि कानुनी उपचार नगरेको तथा गैरकानुनी रकम विदेश पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।




प्रतिक्रिया