ADVERTISEMENT

किन पक्राउ परे सर्लाहीका बसबरिया गापाका अध्यक्ष राय ?

वडा सदस्यको हस्ताक्षर नक्कली बनाएर आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गराएको आरोप, अदालतको पक्राउ अनुमतिपछि प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं । सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष राम सिंहासन राय गाउँसभाको निर्णयमा किर्ते हस्ताक्षर गरेको आरोपमा पक्राउ परेका छन् । गाउँसभा बैठकमा बजेट पारित गर्ने क्रममा वडा सदस्यको हस्ताक्षर नक्कली बनाएर निर्णय प्रमाणित गराएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ मानपुर बजारबाट घर फर्किंदै गरेका अध्यक्ष रायलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रनाथ पौडेलले राय पक्राउ परेको पुष्टि गरेका छन् । उनका अनुसार गाउँसभाको निर्णयमा किर्ते हस्ताक्षर गरेको आरोपमा अनुसन्धानका लागि जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार अध्यक्ष रायमाथि आर्थिक वर्ष २०८०/८१ को गाउँसभाबाट बजेट पारित गराउँदा वडा नम्बर २ बाट निर्वाचित वडा सदस्य सुनैना सहनीको हस्ताक्षर किर्ते गरेको आरोप छ ।

गाउँसभामा बजेटसम्बन्धी निर्णय गर्दा मत बराबर भएपछि अध्यक्ष रायले वडा सदस्य सहनीको हस्ताक्षर नक्कली बनाएर बजेट पारित गराएको आरोप लागेको प्रहरी स्रोतले जनाएको छ । गाउँसभाको निर्णय प्रक्रियामै हस्ताक्षर किर्ते गरेर बजेट पारित गराइएको विषय सार्वजनिक भएपछि यो प्रकरणले गाउँपालिकाको राजनीतिक तथा प्रशासनिक वृत्तमा चर्चा पाएको छ ।

यस प्रकरणमा गाउँपालिकाकी उपाध्यक्ष पक्षले अध्यक्ष रायविरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सोही मुद्दाका आधारमा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गाउँसभाजस्तो स्थानीय सरकारको सर्वोच्च निर्णय गर्ने निकायमा निर्वाचित जनप्रतिनिधिकै हस्ताक्षर किर्ते गरी बजेट पारित गराइएको आरोप गम्भीर प्रकृतिको छ । अब प्रहरीले गर्ने अनुसन्धानबाट हस्ताक्षर किर्ते भएको हो वा होइन, बजेट पारित गर्ने प्रक्रियामा कसको कस्तो भूमिका थियो र निर्णय प्रक्रियामा कानुनी त्रुटि भएको थियो वा थिएन भन्ने विषय खुल्नेछ ।

यद्यपि, अध्यक्ष रायमाथि लागेको आरोप अनुसन्धानबाट पुष्टि हुन बाँकी छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार