काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ।
कीर्तिपुरस्थित टीयू मैदानमा सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो।
काठमाडौंका रासिद खानले अविजित ३५ र दुसान हेमन्थाले २१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। सुदूरपश्चिमका अनिल खरेलले २ विकेट लिए भने स्कट कुगेलेइन, हेमन्त धामी र फाबियन एलनले समान १ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो। उसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ५५ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ६० रन बनाए। थरिन्दु रत्नायकेले अविजित २६ तथा आरिफ शेखले १६ रन जोडे।
काठमाडौंका जहानदाद खानले ३ तथा सन्तोष यादवले २ विकेट लिए।जितसँगै ७ खेलबाट १० अंक जोडेको सुदूरपश्चिम लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लगातार चार जितपछि पहिलो हार बेहोरेको काठमाडौं ६ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा छ। काठमाडौंले अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ।




प्रतिक्रिया